
बङ्गलादेश : पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या दुई लाख नाघेको छ।
संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या साढे दुई लाख पुगेको छ।
म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण उनीहरु देश छोडेर भागेका हुन्।
म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाका कारण शरणार्थीको रुपमा रोहिङ्गा मुस्लिम बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।
छिमेकमा पर्ने यस देशमा म्यानमाली नागरिक जाने क्रम जारी छ। म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन्।
गत हप्तामात्र राष्ट्रसंघले दिएको जानकारी अनुसार बङ्गलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए। उक्त सङ्ख्या बढेर बिहीबार साढे दुई लाख पुगेको हो।
यो सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ। संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुले भने त्यो सङ्ख्या अझै धेरै हुनसक्ने बताएका छन्।
राखिज राज्ययमा हिंसा मच्चिएको छ। सोही कारण म्यानमाली भाग्नु परेको उनीहरुको दाबी छ। तर म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गरेको छ।
पाँच वर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ। भाग्ने क्रममा ६० जनाको ज्यान गयो
यसै बीच, पछिल्लो पटक भएको भागदौडका क्रममा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ। उनीहरुको म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा डुंगा डुबेर मृत्यु भएको हो।
बङ्गलादेशका सीमा सुरक्षा गार्डले दिएको जानकारीअनुसार ती शरणार्थीले नदी तर्ने क्रममा माछामार्ने डुंगा प्रयोग गर्ने गरेका र यस्तो डुंगा डुबेर उनीहरुको ज्यान जाने गरेको छ।
त्यस क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था गरिएको भनी बङ्गलादेशको सीमा सुरक्षा बलले बताएको भए पनि त्यसो हुन सकिरहेको छैन। रासस/एएफपी