पाल्पा : बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन्।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन्।
वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको हो। बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन्।
वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा आएको छहराकी रमा खत्रीले बताइन्। पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको खत्रीको भनाइ छ।
मेहनत गरेर फलाएको मकै पाक्न लाग्दा बाँदरले क्षति गरेपछि किसानलाई रुनु न हाँस्नु भएको छ।
मकै, सिमी, बोडीलगायतका अन्नबाली बाँदरले नष्ट गरेपछि किसान यतिबेला थप समस्यामा छन्। अब के खाने हो भन्दै किसान रनभुल्लमा छन्।
पहाडी जिल्ला पाल्पामा धानभन्दा मकैबाली राम्रो उत्पादन हुने भए पनि बाँदरले क्षति गर्दा किसानले पाकेको बाली स्याहार्न पाएका छैनन्।
बाँदरले अन्नबाली सखाप पार्यो भनेर रैनादेवी छहरा गाउँपालिकामा राहतका लागि पाँच सातवटा निवेदन दैनिकजसो आउने गरेका छन्।
बाँदरको क्षतिबाट किसानलाई ठूलो मर्का परे पनि राहत वितरणको कार्यक्रम गाउँपालिकामा छैन। रासस