काठमाडौं : सरकारी छापाको विरुद्धमा सबै पसल बन्द गरेर हड्तालमा उत्रिएका दरबारमार्गका व्यवसायी अहिले आपूर्ति व्यवस्थापन विभाग पुगेका छन्।
.jpg)
विभागले दरबारमार्गका ब्राण्डेड शपमा अनुगमन गर्दै उच्च मुनाफा राखेका पसललार्इ तीन दिनभित्र आवश्यक प्रमाणसहित आउन निर्देशन दिएको थियो। यो निर्देशनपछि सिलबन्दी गरिएका पसलका संचालक बबरमहलस्थित विभागको कार्यालय पुगेका छन्। दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपत्तिले सबै पसलले आवश्यक कागजपत्रसहित विभागमा गइसकेको बताए।
'सरकारले मागेको कागजपत्र हामी दिन तयार छौं। हामीले अनुगमनको प्रकृयाको मात्रै विरोध गरेका हौं'उनले भने,हामीले आवश्यक कागपत्र पेश गर्न कुनै पनि व्यापारी चुक्दैन्। 'विहिबार पत्रकार सम्मेलन गर्दै सरकारी अनुगमन गैरकानुनी भनेका व्यापारी शुक्रबार भने विभाग पुगेका हुन्। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिलबन्दी गरिएका पसल संचालक विभागमा कागजपत्रसहित आउन थालेको बताए। 'उहाँहरु कागजपत्रसहित विभागमा उपस्थित हुन थाल्नुभएको जानकारी पाएको छु'उनले भने,हामी उहाँहरुले पेश गर्नुभएको कागजपत्र हेरेर आवश्यक कारवाही प्रकृया अघि बढाउँछौं।'
आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको टोलीले सोमबार दरबारमार्ग क्षेत्रमा रहेका विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका पसलहरुमा अनुगमन गर्दा खरीदभन्दा दुर्इ सय गुणासम्म बढी मुनाफा लिएर सामान बिक्री गरेको भेटिएको थियो। बढी मूल्यमा सामान बिक्री गरेको भेटिएपछि सोमबार नै चारवटा पसलमा सिलबन्दी गरिएको थियो भने बुधवार थप दुर्इवटा पसलमा सिलबन्दी गरेको थियो।
कागजपत्र पेश भएपछि पसल संचालकसँग वयान लिने र अनुसन्धान अधिकृत तोकिने उनले बताए। पसलमा कर छली भए/नभएको अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागको समेत अनुसन्धानको विज्ञ टोलीमा हुनेछ। यो अनुसन्धान टोलीले सील खोलेर पसलको अनुसन्धान गर्छन्। प्रारम्भिक अनुसन्धानमा कुनै त्रुटी नभएमा पसलले 'क्लिन चिट' पाउने दाहालले बताए।अनुसन्धानको क्रममा पसलले बढी मुनाफा लिएको, कर छलेको लगायत भेटिएमा त्यही ऐनमा टेकेर कारवाही हुने दाहालले बताए।