PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

इपीएलको टिम र मालिकको नाम घोषणा, को-को छन् मार्क्यु प्लेयर?

इपीएलको टिम र मालिकको नाम घोषणा, को-को छन् मार्क्यु प्लेयर?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा धेरै नगद पुरस्कार राशी रहेको एभरेष्ट प्रिमियर लिग इपीएलको ६ वटा फ्रेन्चाइज टिमको नाम शुक्रबार घोषणा भएको छ। यसै गरी टिम मालिकको नाम र प्रत्येक टिमको एक जना मार्क्यु प्लेयरसमेत सार्वजनिक गरिएको छ।

शुक्रबार राजधानीको होटल याक एण्ड यतीमा आयोजकले विभिन्न ६ सहरको नाममा रहेका टिमसँगै मालिकको नाम पत्रकारमाझ सार्वजनिक गरेको हो। तर, टिम कप्तानको नाम सार्वजनिक गरिएको छैन।

आगामी डिसेम्बरमा हुने इपीएल प्रतियोगितामा सहभागिता जनाउने टिमहरुमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स,  विराटनगर वारियर्स,  भैरहवा ग्लाडिएटर्स,  पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन्। नेपाली राष्ट्रिय सिनियर टिमका कप्तान पारस खड्का विराटनगरको मार्क्यु प्लेयरमा छन्। उपकप्तान ज्ञानेन्द्र मल्ल ललितपुरको मार्क्यु प्लेयरमा छन्।

मार्क्यु प्लेयरले कम्तीमा २ लाख नगद पाउने आयोजक इपीएल प्रालीका फाउण्डर आमिर अख्तरले बताएका छन्।

यसबाहेक सोमपाल कामी काठमाडौं, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा र दीपेन्द्र सिंह ऐरी चितवन मार्क्यु प्लेयरमा घोषित भएका छन्।

अक्सनमा आधारित इपीएलमा यस पटक प्रत्येक टिममा ३-३ जना विदेशी खेलाडी राख्ने आयोजकले यसअघि नै घोषणा गरिसकेका छन्। त्यसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, इंगल्याण्ड, वेष्टइन्डिजलगायत राष्ट्रका खेलाडीसँग कुरा भइरहेको इपीएलका फाउण्डर तथा म्यानेजिङ डिरेक्टर आमिर अख्तरले बताएका छन्। उनकाअनुसार केन्याका कप्तानसमेत इपीएल खेल्न उत्सुक रहेका छन्।

नेपालले वरर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल खेलेर फर्केपछि इपीएलको अक्सन हुने अख्तरले जानकारी दिएका छन्। टिम घोषणा कार्यक्रममा दीपेन्द्र सिंह ऐरीबाहेक पाँच वटै टिमका मार्क्यु प्लेयर उपस्थित थिए। यू-१९ टिमका कप्तान रहेका दीपेन्द्र आजै यू-१९ एसिया कप छनोट खेल्न टिमसँगै मलेसिया गएका छन्।

राष्ट्रिय टिमका कप्तानसमेत रहेका पारस खड्का र शक्ति गौचनले इपीएलमा खेल्दा डोमेस्टिक प्रतियोगिताभन्दा पनि इन्टरनेशनल गेमको आभाष हुने बताए।

यस्तो प्रतियोगिता नयाँ आउने प्रतिभा र युवा खेलाडीको लागि ठूलो प्लाटफर्म हुने उनीहरुको भनाई थियो। यस्तै ज्ञानेन्द्र मल्लले क्रिकेटमा पनि लगानी भइहरेको उदाहरण दिँदै यसबाट धेरै कुरा सिक्न सकिने बताए। यसले नेपाली क्रिकेट विकासमा सहयोग हुने क्रिकेटमा जस्तै अन्य खेलमा पनि लगानी भए खेलमा विकास हुने प्रतिक्रिया दिए।

राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका रुपमा उपस्थित राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नयाँ स्वरुपमा हुन लागेको इपीएलले नेपाली क्रिकेटको विकासमा धेरै सहयोग गर्ने बताए।

टमाटाले टी-२० मा मात्र नभई अब ५० ओभरको खेल पनि यस्तो आयोजना आवश्यक रहेको र त्यस्ता प्रतियोगिता गर्नुपर्ने प्रतिक्रिया दिए।

यसै गरी प्रतियोगितामा सहभागि टिमका मालिकले पनि इपीएलका लागि आफूहरु उत्साहित रहेको र आफ्नोभन्दा पनि सहरको टिलाई चिनाउने गरी प्रतिस्पर्धा गर्ने बताए।

 

टिम                                                मार्क्यु  प्लेयर                       टिम मालिक

काठमाडौं किंग्स एलेभेन           सोमपाल कामी                    रोहित गुप्ता

ललितपुर प्याट्रिओट्स              ज्ञानेन्द्र मल्ल                       किशोर महर्जन

विराटनगर वारियर्स              पारस खड्का                         विशाल अग्रवाल

भैरहवा ग्लाडिएटर्स               शरद भेषावकर                     आदित्य संघाई

पोखरा राइनोज                     शक्ति गौचन                       शाहिल अग्रवाल

चितवन टाइगर्स                    दीपेन्द्र ऐरी                           किशोर भट्टराई

 



ट्रेन्डिङ पोस्ट

Ncell