काठमाडौं : राजधानीको अमृत साइन्स क्याम्पस अस्कलले आफ्नो कलेजका संस्थापक प्राचार्य अमृत प्रसाद प्रधानको स्मृतिमा विश्वविद्यालय स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक अनेरास्ववियु अस्कल क्याम्पस इकाइले यही भदौ २४ देखि असोज १ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको हो।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसले भाग लिने अनेरास्ववियू क्याम्पस इकाइका वरिष्ठ विद्यार्थी नेता समिरराज विष्टले जानकारी दिए।
सानो गौचरनस्थित फुटबल मैदानमा शनिबार बिहानदेखि सुरु हुने प्रतियोगितामा हिमालयन कलेज, अमृत ए र बी, रत्नराज्य, केन्द्रीय क्याम्पस, नेपाल इन्जिनिरयरिङ, पाटन संयुक्त, त्रिचन्द्र, सगरमाथा, एनसिआइटी, नोबल, ताहाचल, पब्लिक युथलगायत १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन्।
असोज १ गते विज्ञान दिवस तथा क्याम्पस स्थापना दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल खेल खेलाइने कार्यक्रम संयोजक सुलभ तामाङले जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि ८ लाख खर्च हुने बताइएको छ।
राजधानीका विभिन्न क्याम्स/कलेजबीच आपसी सद्भाव कायम राख्न र नयाँ प्रतिभालाई उजागर गरनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
राष्ट्रिय लिग नभएको सन्दर्भमा यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने आयोजकको विश्वास छ।
६ वर्षसम्म त्रिचन्द्र कलेजमा अध्यापन गराइसकेपछि छुट्टै विज्ञान कलेजको आवश्यकताको महसुस गरी २०१३ साल असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर प्रधानले पव्लिक साइन्स कलेजको स्थापना गरेका थिए।
उनको स्मृतिमा अनेरास्ववियु अस्कल कमिटीले यसअघि पनि विभिन्न प्रतियोगिता गरिसकेको छ। राससको सहयोगमा