
काठमाडौं : उपाधि दाबेदार भारतले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार लगातार तेश्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले घरेलु टोली नेपाललाई १०६–३९ ले पराजित गर्यो। भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी (६ फिट १० इन्च) प्रिन्स पाल सिंहले ४५ अंक योगदान गरे।
सबै क्वाटरमा हावी रहेको भारतले चार क्वाटरमा क्रमशः २६–१२, २४–७, ३२–१२ र २४–८ अंक जोडेको थियो। भारतले आफ्नो अन्तिम खेलमा भुटानसँग शुक्रबार खेल्ने छ। भारतले यसअघि बंगलादेश र माल्दिभ्सलाई हराएको थियो।
नेपालका लागि विगतका खेलमा झै अभिषेक सिंहले सर्वाधिक अंक जोडे। उनले नेपालको स्कोर बोर्डमा २० अंक जोडे। गेल्सन शेर्पाले ११, आशिष बस्नेतले ६ र चिरञ्जिवी रोकायाले २ अंक थपे।
यसअघि पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई १०७–५२ ले हराएको थियो। बंगलादेशले पहिलो क्वाटरमा ३६–२ र दोश्रोमा २४–१० को अग्रता बनाएको थियो। तेश्रो क्वाटर २१–२१ को बराबरीमा सकियो। चौथो क्वाटर बंगलादेशले २६–१९ ले आफ्नो पक्षमा पार्यो। बंगलादेशका काजी रइतु इस्लामले २१ स्कोर गरे। प्रतियोगिताको अन्तिम दिन शुक्रबारै माल्दिभ्सले नेपालको सामना गर्नेछ।