- सुरेश झा
निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि सुरु गरेका छन्।
पार्टीका झण्डा, तुल, घोषणापत्र र चुनाव चिह्नसहित सहर तथा ग्रामीण भेगका गाउँ, टोल र घरमा सम्बन्धित दलका उम्मेदवार र कार्यकर्ता पुगेर मतदानका लागि महिला, वृद्धवृद्धा र युवालाई आग्रह गरिरहेका छन्। प्रत्येक चिया पसल, टोल र चोकमा सर्वसाधारण कसले जित्ने र हार्ने, कसलाई मत दिने र नदिनेजस्ता गफमा व्यस्त छन्।
सुरक्षा निकाय भने जिल्लामा निर्वाचन बिथोल्ने कुनै किसिमको काम हुन नदिन पूर्ण सुरक्षाका साथ लागि परेको प्रजिअ भागीरथ पाण्डेले बताए।
जिल्ला सुरक्षा समितिको बैठक बसी सुरक्षा गति विधि बारे जिल्ला मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराएको छ।
निर्वाचन प्रचार प्रसारका क्रममा पसल र होटलको बिक्री र व्यापार बढ्दै गएको छ भने पम्पहरुमा पेट्रोल र डिजेल लिनेको भीड लाग्न थालेकाे छ।
प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता विपरित पार्टीको चिह्नसहित टिसर्ट र टोपी वितरण गरेको पाइएको छ भने पदयात्रामा बालबालिकाको प्रयोग भएको पाइएको छ। यस बारे सम्बन्धित निकाय भने मौन रहेको पाइएको छ।
जिल्लामा स्वतन्त्रसहित कूल पाँच हजार ६८३ जना विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनावी मैदानमा भाग लिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये नौ नगरपालिकाका प्रमुख पदमा १०३ र नौ उपप्रमुख पदमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यस्तै नौ गाउँपालिका प्रमुखमा ११४ र उपप्रमुखमा भने ७४ जनाले उम्मेदवारी दिएका छन्। कूल १६४ वडाका लागि अध्यक्षमा भने एक हजार २१७ जनाले उमेदवारी दिएको बताइएको छ।
खुला वडा सदस्य ३२८ सदस्यमा दुई हजार ३०, १६४ दलित महिला सदस्यका लागि ९८२ र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयबाट थाहा भएको छ।
जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता रहेकामा एक लाख ७० हजार ८८८ पुरुष, एक लाख ६० हजार ७७० महिला र २१ तेस्रोलिंगी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। निर्वाचनका लागि दुई हजार ७७२ कर्मचारी खटिएका छन् भने ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।
जिल्लाका ४६२ मतदान केन्द्रमध्ये २२४ अतिसंवेदनशील र २३८ संवेदनशील तथा २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील मतदानस्थल रहेको जिल्लाका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए।
निर्वाचनका लागि जिल्लामा चार हजार नेपाल प्रहरी, दुई हजार सशस्त्र प्रहरीलगायत राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारी र सैनिकसमेत परिचालन गरिएको छ। रासस