PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कान्तिपुर गाथा : किमा नोट्स पढेर लोकसेवा पास गर्ने सचिवको फूर्ति



किशोर नेपाल

कान्तिपुर गाथा : किमा नोट्स पढेर लोकसेवा पास गर्ने सचिवको फूर्ति

सचिवजीले छयाँसेछन संसदीय समितिलाई। पढेर एकछिन त कनिका निकै चहकिइ। उसले टेवुलमाथि राखेको टफलरको टुक्रो मुखमा हाली। सचिवले घच्चु दिएछन्, ‘सचिव भनेको तिमीहरुका हरुवा चरुवा हुन र ? जतिबेला मनलाग्यो, बोलायो। हामी त लोकसेवा पास गरेर आएका हौं।’
कनिकाले सोची, सचिवले कुरा त गरेकै हुन्। तर, लोकसेवा पास कसरी गरे? यो सोचनीय कुरा थियो। उसले मिठ्ठु काकीलाई फोन गरी र सोधी– ‘काकुमुवाँ, सचिवहरुले कसरी लोकसेवा पास गर्दछन्?’

कनिकाको प्रश्नले काकुमुवाँ एकछिन छक्क परिन्। त्यसपछि जवाफ दिइन्, ‘किमाको नोट पढेर।’
 
के रहेछ किमाको नोट ? उसले अविनाशलाई फोन गरी। फोन उठेन। ऊ भुतभुताइ, ‘एकैपल्टमा त यो अविनाश कहिल्यै फोन उठाउँदैन।’ त्यसपछि उसले प्रियालाई फोन गरी। प्रियाले भर्खरै लोकसेवा पास गरेर ग्याजेटेड सेकेण्ड क्लासमा प्रमोसन लिएकी थिइ। उसको ‘इलु इलु’ चलिरहेको थियो भर्खरै सचिवमा बढुवा पाएको दिव्येश्वरसँग। प्रियाले फोन उठाउँदै एकै सासमा सोधी, ‘साँच्चै तँ लोकसेवा नभिड्नी नै भइस् त ? दुःख पाउलिस् है केटी। हेर, सरकारी जागीर जति सुखको काम अर्को हुँदैन। सरकारको ढुकुटीमा पैसा होस् कि नहोस्, तलब–भत्ता नियमित पाइन्छ। सवारी, पेट्रोल, विदेश भ्रमण सुविधा टन्नै छन्। अंग्रेजी भाषा जानेको छ भने त गभर्नमेन्ट जबमा उन्नति नै उन्नति छ। यसो प्रोजेक्ट स्रोजेक्ट हान्न पाइयो भने बेडा पार नै भै हाल्यो। केही नभएपनि सवैभन्दा आकर्षक त पेन्सन छँदैछ। आइ लभ जीओएन।’

कनिकाले प्रियाको फतफत यसअघि पनि धेरैपटक सुनेकी थिइ । उसले प्रियालाई इन्टरप्टगर्दै सोधी, ‘भन त, लोकसेवा जाँचदिन सजिलो पार्ने यो किमा नोट भनेको के हो?’

प्रियाले जवाफ दिई, ‘अब आया न उँट  कुन्नि केका पिछे भन्छन् नि। खुशी लाग्यो लोकसेवामा तेरो रुचि उम्रिएको थाह पाएर। मेरो कोठामा किमा नोटका एक दर्जन संस्करण छन्। भरे मेरोमा आइज र लिएर जा। तँलाई चिल्ड कार्ल्सवर्ग पिलाउँला एक बोत्तल। त्यसो त बुकस्टोरमा गएर किमा नोटस मागिस् भने टन्नै दिन्छन्।’

कनिकाले ओके भनेर फोन राखी दिइ। ऊ अफिसबाट बाहिर आइ र भोटाहिटीको बुकस्टोरतिर लागी। बुकस्टोरमा किमा नोट्समात्रै होइन, निमा नोट्स, वीमा नोट्स, सीमा नोट्सजस्ता नोटैनोट्सको लश्कर रहेछन्। कनिका मनमनै हाँसी, ‘यस्ता नोट्स पढेर सचिव हुनेहरुको फूर्ति कत्रो । राजातन्त्रको संस्कारमा हुर्किएका दासहरुले कसरी बुझुन् लोकतन्त्र।’

कनिका अफिस फर्किइ र लेख्न थाली, ‘कति रमाइलो बन्दैछ हाम्रो देश। अलिकति प्रमाण र अलिकति उदाहरणलाई पछ्याउँ। देशका पहिला राष्ट्रपति डेरा भाडाको गनगनमा परेका छन्। खुरुक्क इज्जत जोगाएर आफ्नै गाउँमा नबसेर काठमाडौं बस्न परेकोछ उनलाई। त्यो पनि सरकार कजाएर। हिजोका दिनमा राष्ट्रपतिजीहरुले मत्याएका थिए कर्मचारीलाई। आज तिनै कर्मचारी त्यही मातको विगुल बजाउँदैछन् उनीहरुको थाप्लोमा। पूर्व राष्ट्रपतिको घरभाडा राष्ट्रिय मजाक बनी सकेको छ। सेनाले यसमा हस्तक्षेप गरेर आफना पूर्व प्रमुख रक्षापतिको इज्जत किन गर्दैन?’

‘देशमा लोकतन्त्र छ। तर, सरकारले लोकतन्त्रको विरोधमा कामगर्ने फटाहाहरुलाई सुमसुम्याएको छ। जनताले चुनेर पठाएका तथा पार्टीहरुले छानेर पठाएका संसदका सदस्यहरुको मानमर्दन गरेको देखेपछि पनि कसरी चूप लागेर बस्न सकेको होला सरकार? जनप्रतिनिधिको बेइज्जती गर्ने कर्मचारीलाई कसको डरले सहेर बसेको छ सरकार? यो एक करोड रुपैयाँको प्रश्न हो।’

त्यसपछि उसले केही लेखिन। लेख्ने कुरा धेरै भएपछि सबैलाई एकैचोटी समेट्न पर्दैन। जति समाचार बचेको छ त्यसलाई स्टकमा राख्न स्वतन्त्र छे कनिका।

सोच्दासोच्दै कनिकालाई लाग्यो, यसमा नयाँ केही पनि छैन। लोकतन्त्र आउँदैमा मानिसको दिमाग फेरिने त हुँदै होइन।
 
उसले स्टोरी डेस्कमा पठाइ दिइ र उलिचलाई भेटन हिंडी। उलिचमा उसको साथी बन्ने धेरैै रसायन रहेको अनुमान गरेकी थिइ कनिकाले। उसको खास नाम उलिच थिएन। उसको नाम थियो सगुन शर्मा। रुसमा पढ्दा सबैले उसलाई उलिच भनेर बोलाउँथे। डेटिंगमा थिइ कनिका उलिचसँग। सम्वन्धका बारे ऊ त्यति विश्वस्त थिइन। के होला होला। समस्या अर्को पनि थियो। उलिचको इन्ट्रेष्ट कनिकामा थियो। कनिकाको इन्ट्रेष्ट उलिचको व्यापारमा थिएन। कनिका आजै उलिचसँग केही महत्वपूर्ण विषयमा छिनोफानो चाहन्थी। उसका लागि यो सानो कुरा थिएन।  
 
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell