
मेक्सिको : मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१ पुगेको छ।मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताएका हुन।
दक्षिण पश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन्।
मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरुमध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ।
एक जना स्थानीयले भने,‘भूकम्प गएको बेला मैले बेलुकाको खाना खाईरहेको थिएँ। म तत्काल घर बाहिर दौडिएँ। सडकमा मानिसहरु आईसकेका थिए। तीमध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए।’
भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन्। ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएका छन्।
मृत्यु भएकामध्ये ४५ जना ओक्साका, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ।
मेक्सिकोमा केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर टाढासम्म भूकम्पको असर परेको छ। भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन्। रासस/सिन्ह्वा