काठमाडौं : मोहमद सलिम रातको अधिकांश समय निदाउँदैनन्। फेसबुक र स्काइपमा आफ्नो देश म्यान्मारमा भएको गतिविधि हेर्दै उनको निद्रा बिथोलिन्छ। निदाउने बित्तिकै सपना देख्छन्। सपनाले पनि लखेट्छ उनलाई। दिउँसो हेरेका विभत्स फोटो र भिडियोहरु सपनामा देख्छन र तर्सिदै उठ्छन्।
म्यानमारमा फैलिएको हिंसाले दिनहुँ रोहिंगा समुदायका मानिसहरु मरिरहेका छन्। २५ अगस्टदेखि अहिलेसम्म १ लाखभन्दा बढी विस्थापित भएका छन्।
सलिम यही हिंसाबाट बच्नको लागि नेपाल आएका थिए । उनी नेपालमै छन्। उनका आफन्तहरु म्यानमारमै विभत्स तरिकाले मरिरहेका छन्। ज्यान बचाउन भागेर बंगलादेशको सिमानामा आउनेहरु खाना नपाएर मर्ने अवस्थामा पुगिसकेका छन्।
फेसबुक र स्काइप खोल्यो कि विभत्स तस्विर र जिउँदै जलाउँदै गरेको भिडियोले सलिमलाई बेचैन बनाउँछ। तर, स्काइप नचलाई बस्न कहाँ सक्छन र उनी । किनकि, उनको ८ जनाको परिवार म्यानमारमै छन्।
***
अगस्ट २७ तारिख सलिम टहरामै थिए। २५ तारिखदेखि म्यानमारमा हिंसा भड्किएकाले कहाँ के भयो मोबाइलमा हेर्दै थिए। विभत्स तस्विरहरुले मन कटक्क पार्दै लगेको थियो। हेर्न नसक्ने दृश्यहरु भए पनि हेर्न बाध्य थिए। आफन्त परेका हुन सक्ने भएकाले बाध्य भएर हेर्नै पर्ने थियो।
सदा झैँ त्यस दिन पनि हेर्न मन नलागी नलागी फोटोहरु हेर्दै थिए उनी। बीबीसी र अरु अन्तर्राष्ट्रिय मिडियाहरुमा आएको समाचार पढ्दै थिए।
स्काइपमा म्यानमारकै साथीले फोटोहरु पठाए।
रगतले अनुहार लतपतिएको। जिउभरी खुकुरीको चोट। जिउँदै आगो लगाएर विरुप। भूइँमा लस्करै लडाएको। त्यस्ता फोटो उनले दिनहुँ हेरेका थिए। खासै ध्यान पनि दिएनन्।
फोटो हेरिसक्दा पनि मान्छे चिनिसकेका थिएनन्।
अन्तिम फोटोकाे टाउकोमा सेनाले टेकेर खुकुरी प्रहार गरेको फोटो देख्दा उनी झसँग भए। शंका लाग्यो। भाइ हो कि। राम्रोसँग फोटोहरु हेर्दै गए। सबै आफ्नै परिवार। त्यति नै बेला साथीले स्काइपमा भन्यो, ‘तेरा सबै परिवारलाई आर्मीले एउटै चिहान बनायो।’ उनी स्तब्ध बने।
२ वर्षअघि नेपाल छिरेका सलिमका अरु परिवार म्यानमारमै थिए। बुवा आमा, ३ जना भाइ, २ बहिनी र भाइको सानो छोरा आठै जना र्याकेनस्टेटको फोकरिया बजारमै बस्दै आएका थिए।
२७ तारिखको हिंसामा उनीहरु सेनाको निशानामा परे।
‘टाउकामा गोली ठोकेछ। सबैलाई मारेर एकै ठाउँमा पारेर आगो लगाइदिएछ। घरपनि खरानी बनाएछ । अन्न पात पालेका जनारहरु केही छैन्।’ सलिमले सुनाए, ‘फोटो हेर्दै विरक्त लागेर आउँछ। के गर्ने के हुन लागेको केही सोच्न सकेको छैन्।’
टहराभित्र पसेर सलिमले एउटा फोटो ल्याए। फोटोमा भएका परिवारका सदस्यहरु एक एक गर्दै चिनाए। गहभरि भएको आँसु पुछ्दै भने, ‘यसपाली नेपाल आउने कुरा थियो। भाग्ने तयारी गर्दा गर्दै सेनाले मारे। पहिला नै भागौँभन्दा बुवाले सर्वस्व छोडेर भाग्दिनँ। यतै मर्छु भन्नुहुन्थ्यो। त्यस्तै भयो।’
यतिबेला सलिमलाई सपरिवार मर्नुको पीडा त छ नै, देशको अवस्थाले चिन्तित छन् उनी। गाँउ बस्ती पूरै आगो लगाएको दृश्य आखाँभरि आइरहने बताउँछन् । हिंसाको अनेकौ तस्विरले विक्षिप्त छन् उनी।
‘नसम्झु भन्यो दिमागमा त्यही आइरहन्छ। मर्ने बेलामा संगै हुन पाइन्। देख्न, भेट्न र संस्कार पुरा गर्न पाइन्,’ उनले पहिलोपोस्टसित दुखेसो पोखे, ‘अब त आफ्नो देश नगई यतै मरिएलाजस्तो छ। त्यहाँ जाने अवस्था कहिल्लै नआउने भो।’
सलिम सन् २०१५ मा बंगलादेशबाट भारत हुदै नेपाल छिरेका थिए। श्रीमती र २ बच्चा लिएर नेपाल आएका उनको अर्को बच्चा पनि भएको छ।
उनी बंगलादेशबाट सिधै बैदेसिक रोजगारका लागि साउदी जाने तयारीमा थिए। श्रीमती र बच्चाहरु बंगलादेशमा सुरक्षित नहुने भएपछि नेपाल छिरे। अहिले ज्याला मजदुरी गरेर परिवार पालेका छन्।
म्यानमारको मान्छे साउदी जाने कसरी। त्यसमाथि सलिमसँग म्यानमारको कुनै कागजात थिएन्। उनी ज्यान जोगाउन भागेर आएका थिए।
बंगलादेशबाट साउदी र मलेसिया जान सकिन्छ। सलिमले सुनाए, ‘बंगलादेशमा दलाल छ्यापछ्याप्ती पाइन्छ। उनीहरु हामीलाई खोज्दै आउछन्। ६ लाख दिन सक्यो भने कागज पत्र बनाएर साउदी पठाइदिन्छन्।’
नक्कली नागरिक्ता तथा प्रणापत्र बनाउन वकिलहरुले नै घुस खाने बताउँछन् सलिम। जेलमा परेकाहरुलाई निकाल्नलाई पैसा दियो भने छोडिदिने बताउँछन् उनी।
‘बंगलादेशबाट झुटो कागज पत्र बनाएर साउदी जाने धेरै छन्। देशको अवस्था त्यस्तो छ। बच्न र पैसा कमाउनको लागि भए पनि जानैपर्छ।’ उनले भने ‘त्यहीबाट साउदी जानेहरुले अलिअलि पैसाको सहयोग गरेर हामी यहाँ बच्न सकेका छौँ।’ (फोटोहरु : गगन थापा)