
नैरोबी: केन्यामा अक्टोबर १७ मा राष्ट्रपतिको निर्वाचन हुने भएको छ। यसअघि भएको निर्वाचनलाई अदालतले मान्यता नदिएपछि केन्यामा फेरि निर्वाचन हुन लागेको हो।
यसअघि गत अगस्त ८ मा भएको निर्वाचनमा त्रुटि भएको र अवैधानिक प्रक्रिया अपनाइएको भन्दै अदालतले पुनः निर्वाचन गर्न आदेश दिएको थियो।
केन्याको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष वाफुला चुबुकाटीले निर्वाचनका लागि आवश्यक क्रियाकलापहरु अगाडि बढाइएको जानकारी दिए।
उनले मतदाताहरुको नामावली दर्ता, त्यसको छानविन, निर्वाचनका लागि नयाँ प्रविधिको प्रयोग, कर्मचारी व्यवस्थापन, तालिम, मतदाता शिक्षा र मतदानका दिन गरिने कामकाबारेमा पूर्वतयारी भईरहेको बताए।
निर्वाचनका लागि उम्मेदवारहरुले प्रचारप्रसार पनि सुरु गरिसकेका छन्। सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उनीहरुको प्रचारप्रसार अक्टोबर १५ तारिखसम्म मात्रै गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
अक्टोबर १५पछि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार गर्न नपाइने भएको हो ।
केन्याको नयाँ राष्ट्रपति बन्नका लागि वर्तमान राष्ट्रपति उहुरु केन्याटा र मुख्य विपक्षी नेता राईला ओडिङगा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यसअघि पनि उनीहरुकै बीचमा प्रतिस्पर्धा भएको थियो भने वर्तमान राष्ट्रपति केन्याटा विजयी भएको घोषणा गरिएको थियो। रासस/सिन्ह्वा