PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी



रासस

पाल्पा :  व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर पाल्पाका एक किसानले वार्षीक पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन्। 
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर यो रकम  आम्दानी गर्न सफल भएका हुन्। 

बीस रोपनी जग्गामा फैलिएको कोइरालको निजी बगैंचाबाट वार्षिक ४० देखि ६० हजारसम्म सुन्तलाका बिरुवा विभिन्न जिल्ला निकासी गर्दै आएको छन्।

अम्लाबाँसमा हुर्काइएका सुन्तलाका ती बिरुवा पश्चिम नेपालको दार्चुला, रोल्पा, सल्यान, कैलाली, प्युठान, अर्घाखाँची, गुल्मी स्याङ्गजा, पर्वत, बागलुङ, कास्की, तनहुँ, नवलपरासीसम्म निर्यात हुँदै आएको उनले बताए। 

करिब ४० वर्षदेखि निजी सुन्तलाको बगैँचाबाट कलमी र बिजु गरी दुई थरीका बेर्ना हुर्काउँदै आउनु भएका कोइराला सुन्तला बिरुवा उत्पादन गर्ने नमूना किसान हुन्। उनले प्रतिकलमी बिरुवा ४५ र बिजु २६ मा बगैँचाबाट नै बिक्री गर्दै आएका हुन्। 

प्रति किलो एक हजारका दरले १५ किलो जंगली सुन्तलाको बीउ काठमाडौंबाट ल्याएर ब्याड राख्छन्। एक किलो बीउबाट तीन हजारभन्दा बढी सुन्तलाको बेर्ना हुर्काउन सकिन्छ। 

सुन्तलाको बीउलार्इ कार्तिक मंसिरमा ब्याड राख्ने। ब्याडमा हुर्किएका सुन्तलाका बिरुवालाई असार महिनामा प्लास्टिकका ब्यागमा सार्ने काम हुन्छ। जमिनबाट प्लास्टिकमा सारिएका जंगली सुन्तलाका बिरुवामा स्थानीय सुन्तलाको कलमी गर्नु पर्ने कोइरालाको भनाइ छ।

कलमी गरिएका बिरुवालाई चार महिनासम्म हावा र पानीबाट जोगाउनका लागि प्लास्टिकको घरमा हुर्काइन्छ। 

सुन्दर तथा हराभरा सुन्तलाको बगैँचा कृषि पर्यटनका लागि थप आकर्षकको थलो बनेको छ। स्थानीय प्रदीप पोखरेलका अनुसार एक करोडभन्दा बढीको सुन्तला वर्षेनी जिल्ला बाहिर निकासी हुँदै आएको छ।

यस वडामा ५० भन्दा बढीले व्यावसायिक सुन्तलाखेती गर्दै आएको अर्का स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell