
काठमाडौं : निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने दललाई भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचीत गरेको छ।
निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेश गर्न अनुरोध गर्ने सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निवेदन पेश गर्दा प्रतिनिधि सभा, प्रदेश सभा वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ।
प्रदेश सभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमा मात्र भाग लिने हो सोसमेत स्पष्ट रुपमा खुलाएर सम्बन्धित दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले सूचना प्रकाशित गरेको हो।
तोकिएको म्याद भदौ २५ देखि २७ गतेभित्र निवेदन पेश नगर्ने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ। रासस