PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

साबा यू-१६ पुरुष बास्केटबलमा भारत च्याम्पियन, नेपाल तेस्रो



पहिलोपोस्ट

साबा यू-१६ पुरुष बास्केटबलमा भारत च्याम्पियन, नेपाल तेस्रो

काठमाडौं : भारत साबा यू-१६ पुरुष बास्केटबल प्रतियोगितामा च्याम्पियन बन्दा घरेलु टोली नेपालले तेस्रो हुँदै प्रतियोगिता टुङ्गाएको छ।

दक्षिण एसियाली ५ राष्ट्र सहभागी सिंगल राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा ६ अंक जोड्दै नेपाल तेस्रो भएको हो। सर्वाधिक ८ अंक जोडेको भारत च्याम्पियन बन्दा बंगलादेश ७ अंक जोड्दै दोस्रो भयो। नेपालले प्रतियोगितामा समान २–२ जित र हारको नतिजा निकालेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले शनिबार माल्दिभ्सलाई १०३–४१ ले पराजित गर्‍यो। नेपालको जितमा गेल्चेन शेर्पाले सर्वाधिक २५ अंक योगदान गरे। अघिल्ला तीन खेलमा सर्वाधिक स्कोर गर्दै आएका अभिषेक सिंहले नेपालको स्कोर बोर्डमा २० अंक थपे।

नेपालले चारै क्वाटरमा अग्रता बनाएको थियो। पहिलो क्वाटरमा ३०–१० ले अगाडि बढेको नेपालले अग्रतालाई कायम राख्दै अन्य क्वाटरमा ३१–४, १९–१२ र २३–१५ को प्रदर्शन गर्‍यो।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा अपेक्षा गरिएझै भारतले उपाधि जित्यो। आफ्नो अन्तिम खेलमा प्रतियोगिताको एक मात्र अपराजित टोली भारतले भुटानलाई १३१–५० ले हरायो। विजयी टिमका लागि प्रिन्स पाल सिंहले २० स्कोर गरे। प्रिन्स ‘मोस्ट भेलुएबल प्लेयर’ समेत पनि चुनिए।

पहिलो क्वाटरमा ४०–७ को फराकिलो अन्तरले अग्रता बनाएको भारत दोश्रोमा २०–२१ ले पछि परेको थियो तर भारतले तेश्रोमा ४१–१० र चौथोमा ३०–१२ अंक जोड्दै जित अन्तर फराकिलो बनायो। भारत ८ अंकसाथ पहिलो भएको हो।

उपाधिसँगै भारतले अक्टोबरमा मलेसियामा हुने पाँचौं एसियाली यू–१६ पुरुष बास्केटबलमा समेत स्थान पक्का गरेको छ। यो प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली उक्त प्रतियोगितालाई छनोट हुने प्रावधान छ।

बंगलादेश ७ अंकसाथ दोश्रो, भुटान ५ अंकसाथ चौथो र माल्दिभ्स ४ अंकसाथ पाँचौं भए। माल्दिभ्सले कुनै पनि खेल जित्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell