
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा दश खेलाडीको लिभरपुललाई ५-० ले पराजित गरेको छ।
शनिबार भएको खेलमा लिभरपुलका साडियो मानेले पहिलो हाफमा रातो कार्ड पाएका थिए। त्यसैको फाइदा उठाउदै सिटीले चार गोल थपेको थियो।
घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सर्जियो अगुएरो गोलमार्फत २४औँ मिनेटमा अग्रता लिएको थियो। ३७औँ मिनेटमा सिटीका गोलरक्षकलाई फल गरेपछि मानेले सिधै रातो कार्ड पाए र लिभरपुल दश खेलाडीमा झर्यो। त्यसैको फाइदा गाब्रिएल जेससले गोल गरेपछि पहिलो हाफमा सिटीले अग्रता दोब्बर पार्यो।
जेजसले ५३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ३-० को अग्रता बनायो। जेससकै स्थानमा ५७ औँ मिनेटमा मैदान प्रवेश गरेका लरे सानेले दुई गोल थपेपछि सिटीले शानदार जित हासिल गर्यो। सानेले ७७औँ र इन्जुरी टाइममको पहिलो मिनेटमा गोल गरे।
सिजनको तेस्रो जितपछि ४ खेलबाट अपराजित रहदै १० अंक जोडेको म्यानचेष्टर सिटी अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।