काठमाडौं: छायांकनमा जानुअघि नै 'छक्कापञ्जा २'को रिलिज टार्गेट गरियो भदौ १६। तर केही दिन नबित्दै फिल्मका निर्माता एवं कलाकारसमेत रहेका दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत असोज ११लाई नयाँ रिलिज डेट टार्गेट गरेको जानकारी दिएका थिए। असोज ११ मै रिलिज तोकियो फिल्म 'मंगलम'को पनि।
आजभोलि फिल्म एउटै दिन रिलिज हुनुलाई जुधाई कम स्वस्थ प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ। केहीले भने व्यवसायिक रिस्क नलिन फिल्म रिलिज पछाडि धकेलिदिन्छन्। मंगलम र छक्कापञ्जा दुई युनिटको हकमा भने प्रचार प्रसारदेखि जुधाई सुरु भएको मान्न सकिन्थ्यो। मंगलमको पहिलो गीत सार्वजनिक भएकै दिन छक्कापञ्जा २ को ट्रेलर सार्वजनिक गरियो।
तर अब यी दुई फिल्म बीचको जुधाई स्थगित भएको छ। फिल्म मंगलम फागुन ४ गते मात्र प्रदर्शन हुने बताइएको छ। दशैं विदालाई टार्गेट गरेर सार्वजनिक हुने भनिएको फिल्म किन पुग्यो त फागुनमा? छक्कापञ्जा २ युनिट र मंगलम युनिटबीचको सहमतिमा मंगलम पछि सरेको हो।
फिल्मका बिक्रेताहरु सहित रिलिज टार्गेट सार्ने बारे बसिएको बैठकमा छक्कापञ्जा असोज ११ मा नै र मंगलम फागुन ४ गते रिलिज हुने निस्कर्षमा पुगेको दीपकराज गिरीले फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले लेखेका छने ,'बिच एफ डि र बिके फिल्मसको मध्यस्थतामा दूबै पक्षले एक अर्काले सहमति र सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको हो।'
आमा सरस्वती मुभिजको ब्यानरमा दिपक दीपाले निर्माण गरेको फिल्ममा वर्षा राउत, प्रियङ्का कार्की, दीपकराज गिरी, स्वस्तिमा खड्का, केदार घिमिरे, जितु नेपाल, बुद्धी तामाङ, स्वरुप पुरुष ढकाल, किरण केसी, शिवहरी पौडेल, निश्चल बस्नेत लगायतको अभिनय रहेको छ। फिल्मको पटकथा र संवाद संयुक्त रुपमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले लेखेका हुन्।
त्यस्तै फिल्म मंगलमलाई छबिराज ओझाले निर्माण गरेका हुन्। फिल्ममा सहनिर्मात्री रहेकी शिल्पा पोखरेल नायिका हुन्। पुष्पल खड्का फिल्मका नायक हुन्। अन्य कलाकार मिथिला शर्मा र पृथ्विराजको पनि मुख्य अभिनय रहनेछ। फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्।
यसअघि फिल्म ऐश्वर्य, रानी र रुद्रप्रिया कार्तिक २ मा जुध्ने भएका थिए। ऐश्वर्य युनिटले भने फिल्म बजारलाई ध्यानमा राख्दै आफै एक साता पछि सर्यो।