PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेता दीपक बोहरा चयन, उपनेता विक्रम पाण्डे



रमेश वाग्ले

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेता दीपक बोहरा चयन, उपनेता विक्रम पाण्डे

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन्। 

आज पार्टी कार्यालय चावहिलमा बसेको संसदीय दलको बैठकले बोहरालालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। 

‘मलाई साथीहरुले विश्वास गरेर सर्वसम्मत संसदीय दलको नेताको जिम्मेवारी दिनुभएको छ,’ निर्वाचित भएपछि नेता बोहराले भने, ‘अब पार्टीको संसद भित्रको उपस्थितिलाई प्रभावकारी बनाउन मेरो भूमिका रहने छ।’ उनले पार्टीको महत्वपूर्ण जिम्मेवारी भएकाले त्यसलाई आफूले प्रभावकारी बनाएर पूरा गर्ने बताए। 

राप्रपा (प्रजातान्त्रिक)को संसदीय दलले उपनेतामा भने विक्रम पाण्डे चयन भएका छन्। बैठकमा सर्वसम्मत निर्णय भएपछि अध्यक्ष पशुपतिशमशेर राणाले दुबैलाई निर्वाचित भएको पत्र दिएका छन्। 

राप्रपाबाट विभाजित भएर बनेको नयाँ दल राप्रपा (प्रजातान्त्रिक) अब संसदमा छैटौ हैसियतको दल भएको छ। 

संसदमा राप्रपा (प्रजातान्त्रिक)सँग १८ सिट छ। यसअघि संसदमा चौथो हैसियतमा रहेको राप्रपा भने पाँचौ हैसियतमा पुगेको छ। ३७ सांसद रहेको राप्रपासँग अब १९ सांसद बाँकी छन्। 

चौथो हसियतमा भने यसअघि नै छ वटा दल एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टी छ। उसँग संसद्मा २५ सांसद् छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell