
याङ्गुनः म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एक पक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन्।
‘अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए)ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ’, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ।
युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट प्रभावित क्षेत्रमा जान पनि पाइने व्यवस्था गरिएको पनि ट्विटमा उल्लेख गरिएको छ।
सम्पूर्ण सहयोगी निकाय तथा मानवताबादीहरुले मानवीय संकटमा परेका पीडितहरुलाई सहयोग गर्न सक्ने गरी खुल्ला गरिएको सो समुहले जनाएको छ। युद्धविराम आउदो अक्टोबर ९ तारिखसम्म मात्र रहने पनि संगठनले स्पष्ट पारेको छ।
यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन। दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो सङ्ख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएकाले मानवीय सहायताको आवश्यकता देखिएको छ।
एआरएसएले सिधै पाठकसम्म पुग्नेगरी ट्विटरबाट वक्तव्य दिएको यो पहिलो पटक हो। आइतबार जारी वक्तव्यमा अटा गल्लाहले हस्ताक्षर गरेका छन्। उनी म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा खटिएका ती लडाकूहरुका कमाण्डर हुन्।
सुरुमा स्थानीय हाराकाह अल याक्विनका नामबाट चिनिने एआरएसएले गत अगस्ट २५ को आसपासमा उत्तरी राखिन राज्यका झण्डै ३० वटा प्रहरी कार्यालयमा हजारौँ लडाकूलाई परिचालन गरेर आक्रमण गरेको थियो।
राखिन राज्यमा रोहिङ्गा मुस्लिम समूदायमाथि भएको यस आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन्। विस्थापितहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार विना नै बसेका छन्।
म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबीगर्दै आएको छ। सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ। रासस/एएफपी