PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

इतिहासकै ठूलो मन्त्रिमण्डल बन्दै, चार मन्त्रीको आज शपथग्रहण



पहिलोपोस्ट

इतिहासकै ठूलो मन्त्रिमण्डल बन्दै, चार मन्त्रीको आज शपथग्रहण

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डलमा चार सदस्य थप गर्दैछन्। प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिनापछि देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा मन्त्रिपरिषद् बिस्तार गर्न मिल्ने वा नमिल्ने विवाद कायमै रहेका बेला प्रधानमन्त्री चार मन्त्री थप गर्ने निर्णय लिएका हुन्।

राप्रपा प्रजातान्त्रिकका तर्फबाट आज चार मन्त्री थपिँदै छन्। जसमा एक राज्यमन्त्री पनि छन्। चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्मा ५४ मन्त्री हुनेछन्। मन्त्रिपरिषदको आकार अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

२०५२ सालमा देउवाले नै ५२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड बनाएका थिए। २२ वर्षपछि सर्वाधिक ठूलो मन्त्रिपरिषदको रेकर्ड देउवा आफैले तोड्न लागेका हुन्। यसभन्दा अघिल्लो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा ५० सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। ०६८ मा डा. बावुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।

सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, दलका उपनेता बिक्रम पाण्डे र सुनील बहादुर थापाले मन्त्रीको शपथ लिँदैछन्। यस्तै, रेशम लामाले राज्यमन्त्रीको शपथग्रहण गर्नेछन्। बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ।

कार्य विभाजनअनुसार बोहोराले विज्ञान प्रविधि, पाण्डेले बन र थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनेछन्। लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउँनेछन्।

राप्रपाबाट विभाजित भई अदालती प्रक्रियाबाट दलको मान्यता लिएको राप्रपा प्रजातान्त्रिकमा १९ सांसद् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell