PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विराटनगर महानगरको बजेट तीन अर्ब ३८ करोड, छोरी जन्माउनेलाई तीन हजार दिइने



अनन्तराज न्यौपाने

विराटनगर महानगरको बजेट तीन अर्ब ३८ करोड, छोरी जन्माउनेलाई तीन हजार दिइने

विराटनगर: विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ। भदौ २३ देखि २५ गतेसम्म भएको महानगरको पहिलो सभाले बजेट सर्वसम्मत पारित गरेको हो।

महानगरका प्रमुख भीम पराजुलीका अनुसार विनियोजित कुल बजेटमध्ये भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख र चालु खर्चका लागि २० करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ।

विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लाख र सामाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख विनियोजन गरिएको छ।

महानगरसभाले परामर्शदाताका लागि पनि खर्च छुट्याएको छ। जसमा ८ करोड ५० लाख र सार्वजनिक निर्माणका लागि एक अर्ब ५४ करोड छुट्याइएको छ ।

तलब तोकिएन

पहिलो महानगर सभाले प्रमुख, उपप्रमुख लगायतका कुनै जनप्रतिनिधिको तलब र सेवा सुविधा तोकेन । सरकारले स्थानीय तह सञ्चालन कार्यविधि जारी गर्ने तयारी गरिरहेको छ’,महानगर प्रमुख पराजुलीले भने, ‘यो कार्यविधि जारी भएपछि मात्र तोकिए बमोजिमका सेवा सुविधाको निर्णय गरिनेछ । हामी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्दैनौँ।’

जनप्रतिनिधिले बैठक भत्तावापत एक बैठकको १ हजारमात्र लिइरहेको उनले जानकारी दिए। यसबाहेक पत्रपत्रिका, टेलिफोन लगायतका कुनै सुविधा लिएका छैनन् ।

 

प्रादेशिक राजधानी बनाउने योजना

पराजुलीका अनुसार विराटनगरलाई प्रादेशिक राजधानी बनाउने अवधारणा अनुसार भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ। यसका लागि प्रादेशिक कन्फरेन्स हल, खेलकुदका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला र स्विमिङ पुल र क्षेत्र विशेषलाई पर्यटकीय स्थल बनाउने योजना राखिएका छन्।

प्रादेशिक कन्फरेन्स हलका लागि सरकारले ३५ करोड रुपैयाँ निकासा गरिसकेको छ। महानगर सभाले करका दरमा वृद्धि नगरेको पराजुलीले जानकारी दिए। दायरा फराकिलो पार्ने गरी करको दर यथावत राखिएको उनले बताए। 

छोरी पाउनेलाई पुरस्कार

महानगरबासी दम्पतीको पहिलो सन्तान छोरी जन्मिएमा महानगरपालिकाबाट ३ हजार रुपैयाँको पुरस्कार पाउनेछन्। छोरी बचाउ कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस्तो निर्णय गरेको पराजुलीले बताए।

गर्भमै लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरूत्साहित गर्न महानगरले यस्तो कार्यक्रम प्रस्तुत गरेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell