PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

८८ किलो सुन तस्करी प्रकरणः अर्थ मन्त्रालयले गठन गर्‍यो छानविन समिति



पहिलोपोस्ट

८८ किलो सुन तस्करी प्रकरणः अर्थ मन्त्रालयले गठन गर्‍यो छानविन समिति

काठमाडौं : अर्थ मन्त्रालयले ८८ किलो सुन तस्करी प्रकरण छानविनका लागि समिति गठन गरेको छ। केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन गत सोमबार प्रहरीले बरामद गरेको थियो। मन्त्रालयले सुन तस्करीबारे अनुसन्धानका लागि भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो।

रसुवा भन्सार हुँदै प्रहरीका डेढ दर्जन चेकपोष्टमा सजिलै पार भएर काठमाडौं सुन आउँदा पनि सरोकारवाला निकाय मौन थिए। अर्थले घटनाको एक सातापछि आइतबार छानविन टोली बनाएको छ।

८८ किलो सुन तस्करीबारे छानविन समिति गठन भइसकेको राजस्व सचिव शिशिर ढुङ्गानाले बताए। ढुङ्गानाले पहिलोपोस्टसँग भने ‘छानविन टोली गठन भइसकेको छ। समितिको प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ।’

छानविन टोलीले रसुवा भन्सार लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेर छानविन प्रतिवेदन बनाउनेछ।

‘रसुवा भन्सारले त्यति ठूलो परिमाणको सुन आउँदा पनि राम्रोसँग जाँच किन गरेन’, अर्थका एक कर्मचारीले भने, ‘सुन लिएर आएको गाडी सजिलै कसरी ल्याउन दिइयो। यो गम्भीर विषयमा छानविन गर्न तत्कालै समिति बनाइनुपर्थ्यो। तर ढिला गरेर समिति बनेको छ।’

विगतमा त्रिभुवन विमानस्थल परिसरमा ३३ किलो बरामद हुँदा भोलिपल्टै पाँच सदस्यीय छानविन समिति गठन भएको थियो। ३३ केजी सुन प्रकरणमा छानविन समितिको अनुसन्धानमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीदेखि श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। खत्री उच्च अदालत पाटनको आदेशमा सामान्य तारेखमा रिहा भई प्रहरीलेसमेत निलम्वन फुकुवा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell