
जाजरकोट : जाजरकोटको दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सुरु भएको छ।
जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो।
साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका, तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन्।
स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ मा सांसद शक्तिबहादुर बस्नेतको आर्थिक सहयोगबाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको हो।
भिडियो एक्स–रे गर्नकै लागि यहाँका बासिन्दा रुकुमको चौरजहारी, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता थियो।
प्रसूति सेवा तीन महिनापछि सञ्चालन
लामो समयदेखि अवरुद्ध रोल्पा जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ।
गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए।
सेवा सञ्चालनसँगै तीन वटा जटिल प्रसूतिको शल्यक्रियासमेत गरिसकिएको जिल्ला अस्पताल रोल्पाका डा. अनिल केसीले जानकारी दिए।
सेवा सञ्चालन गर्न नयाँ चिकित्सक भर्नाका लागि दर्खास्त आह्वान गरिएको भएपनि कसैले आवेदन नदिएका कारण लामो समयसम्म सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ।रासस