PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार



रासस

म्याग्दी :  अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ। 

नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो। 

मर्मत अभावमा वर्षौंदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्वारा निर्माणाधीन नयाँ आयोजनाका कारण संकटमा परेको छ।

नारच्याङको मिस्त्री, घलेम्दी र नीलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ (सुरुङबाट निस्किएको गेगर र माटो) बाँधमा थुप्रिएपछि दुई मेगावाट क्षमताको आयोजना हाल बन्द छ। 

गेगर, माटो र तार बगाएर ल्याई बाँधमा थुपारेपछि साउन महिनादेखि विद्युत् उत्पादन हुन नसकेको आयोजनाका प्राविधिक खिम पुनले बताए । 
खोलाबाट सिधै सुरुङमा पानी ल्याउने गरिएको आयोजनाको बाँधमा बालुवा थिग्र्याउने पोखरी छैन। ४२ मेगावाट क्षमताको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दी खोलाको सुरुङको मकिङ र नीलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । 

मिस्त्री खोला र तातोपानीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक यस विषयमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको स्थानीयले बताएका छन्। नारच्याङको बाँसबोटमाथि बाँध रहेको तातोपानी आयोजनाको विद्युत गृह धरापमा छ। 

नेपाल विद्युत् प्राधिकरणले विसं २०४६ मा निर्माण गरेको म्याग्दीको एक मात्र विद्युत गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा ५०० किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो।

चार वटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने प्राविधिक पुनले बताए। जेनेरेटरमा खराबी आएका चार वटा टर्वाइन मर्मतका लागि ठूलो लगानी आवश्यकपर्ने उनले बताए। तीन वटा जेनेरेटर मात्र ठीक अवस्थामा छन्। 

आयोजनाका प्रमुख लालबहादुर लम्सालले बजेट अभावमा मर्मत गर्न समस्या भएको बताए। प्राधिकरणमा जानकारी गराए पनि बजेटको व्यवस्था नहुँदा मर्मत गर्न नसकिएको लम्सालको भनाइ छ। आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन छाडेको १० वर्ष भइसकेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell