बलिउड अभिनेत्री प्रियङ्का चोपडा निर्मित नेपाली भाषाको फिल्म 'पाहुना'ले पाएको सकारात्मक प्रतिक्रियाले उनी दङ्ग छिन्। चोपडाकै निर्माण कम्पनी पर्पल पेबलको ब्यानरमा बनेको फिल्म विहीबार टोरन्टो फिल्म अवार्डमा प्रदर्शन गरिएको थियो।
फिल्मलाई पाखिए टाइरेवालीले निर्देशन गरेकी हुन्। नेपाली भाषामा बनेको सिक्किमी फिल्म बारे प्रियङ्काले आफ्नो अभिव्यक्ती समेत दिएको एनडिटिभीले जनाएको छ। उनले आफ्नो फिल्मले बाल अधिकार, शरणार्थीको अवस्था, धार्मिक मान्यताले गर्ने असर र अभिभावकले गर्ने निर्णयको बाल मनोविज्ञानमा गर्ने असर बारे बोल्ने बताइन्। फिल्ममा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग्गिएका बालबालिकाको कथा उठान गरिएको छ। फिल्ममा नेपाली भाषी अभिनेत्री मञ्जु केसीको पनि अभिनय रहेको छ। उनले नेपाली म्युजिक भिडियो साथै टेलिश्रृङ्खला मेरी बास्सैमा समेत अभिनय गरेकी थिइन्।
फिल्म प्रदर्शनको खुशी उनले इन्स्टाग्राममा भिडियो पोस्ट गरेर व्यक्त गरेकी छिन्। चोपडाले निर्देशक पाखिए, टोरन्टो फिल्म फेस्टिभल आयोजक र आमा मधु र मुख्य दुई बाल कलाकारलाई 'पाहुना' निर्माण र प्रदर्शनमा साथ दिएको निम्ती धन्यवाद दिइन्।
प्रियङ्का चोपडा हाल आफ्नो फिल्म निर्माण कम्पनी पर्पल पेबलको ब्यानरमार्फत क्षेत्रिय फिल्म निर्माणमा ध्यान दिन व्यस्त छिन्। कोन्कानी फिल्म 'लिटल जोय कहाँ हो?', बंगाली भाषाको फिल्म साथै अन्य प्रोजेक्ट तयारीमा रहेको बारे प्रियङ्काकी आमा मधु चोपडाले जानकारी दिएकी छिन्।