
काठमाडौं : शुक्रवार दिउँसो एक महिला हतारिँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीको गेटमा पुगिन्। उनको अनुहारमा हतास र निरास प्रष्टै देखिन्थ्यो।
'के भयो? कसलाई खोज्नु भयो?,' ड्युटीमा रहेका एक प्रहरीले सोधे।
अक्मकिँदो बाक्यमा उनले जवाफ फर्काइन्, 'कान्तिपुर यातायातको गाडीमा मेरो झोला छुट्यो। झोलामा महत्वपुर्ण कागजपत्र सहित ६ हजार रुपैयाँ छ। गाडीबाट ओर्लिएको १० मिनेट भयो। सामान खोज्दिनुहोला। म बर्वाद हुन्छु।'
तत्काल नै ड्युटीमा खटिएका ती प्रहरी उनलाई हराएको सरसामान खोज तलास केन्द्रमा पठाए। प्रहरी सामान खोज्न लग्यो। यो समचार तयारपार्दासम्म उनको झोला भने प्रहरीले फेला परेको छैन।
हराएको सामान खोजतलास गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत जेठको पहिलो साताबाट सेवा प्रभावकारी रुपले शुरु गरेको जनाएको छ। सामान हरायो भन्दै दैनिक ३ देखि ५ जनाको उजुरी आउने गरेको सहायक निरीक्षक निरञ्जन केसी बताउँछन्।
गत जेठ महिनादेखि अहिलेसम्म सामान हराएको भन्दै १ हजार ३४ वटा उजुरी परिसकेको छ। जसमा प्रहरीले हराएको सामान खोजेर ४३ जनालाई बुझाइसकेको केसीले बताए। भदौ महिनमा मात्र प्रहरीले दुई जनाको सामान फेला पारेर बुझाएको छ।
कार्यालयमा सबैभन्दा धेरै मोबाइफोन, महत्वपुर्ण कागजपत्र, नगद हराएको उजुरी पर्ने गरेका छन्। सवारी साधन हराएको भन्दै उजुरी आउनेको सङख्या पनि उस्तै छ। मुसुरो दाल देखि आइफोन हराएको सम्म उजुरी परेको कार्यरत प्रहरी बताउँछन्।
तपाईँको कुनै पनि सामान हराएमा प्रहरीको मोबाइल नम्बर 9851298888 सम्पर्क गरेर जानकारी दिन सक्नुहुने छ।