PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

 महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्न सरकार तयारः प्रधानमन्त्री



पहिलोपोस्ट

 महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्न सरकार तयारः प्रधानमन्त्री

काठमाडौँ  : अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनकाे एक समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। 

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षण गर्न लगानीमैत्री वातावरण तयार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताए। 

उनले भने,‘आर्थिक रुपले एक महिला सक्षम तथा आत्मनिर्भर हुनु भनेको सिङ्गो परिवार नै समृद्ध हुनु हो। परिवार समृद्ध भएपछि समाज र पूरै देशको आर्थिक उन्नयन हुन्छ। त्यसैले यस क्षेत्रमा महिलामा लगानी बढाउन आवश्यक छ।’ 

प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा उल्लेख्य रुपमा महिला सहभागितालाई सुनिश्चित गरेको र यसले महिलालाई सशक्त र अधिकार सम्पन्न बनाउन मद्दत पुगेको बताए। 

दक्षिण एसियली क्षेत्रीय सहयोग संगठन (सार्क)का  महासचिव अमजद हुसेनले महिलाको आर्थिक तथा सामाजिक सुधार ल्याउन महिला उद्यमशीलता विकास गर्न जरुरी भएको बताए। 

उद्योगपति विनोद चौधरीले नेपालका महिला राजनीतिक रुपमा धेरै अगाडि रहेका तर उद्योग व्यवसायमा भने सहभागिता न्यून रहेको उल्लेख गरे। 

दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित सम्मेलनमा सार्क सदस्य राष्ट्रलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ। 

सार्कअन्तर्गतको सो मञ्च दक्षिण एशियाली महिलामा उद्यमशीलता विकास गर्न क्रियाशील छ। दुई दिने सम्मेलनमा पर्यटन, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीले हासिल गरेका सफलता, भोग्दैआएका समस्या एवं लगानीका बारेमा छलफल हुनेछ। 

विश्व व्यापार संगठनकाअनुसार यस क्षेत्रको कूल व्यापारको दश प्रतिशत हिस्सा मात्र महिलाको छ। तीमध्ये पनि साना तथा मझौला व्यापार÷उद्यममा महिला संलग्न छन्। राष्ट्रिय अर्थतन्त्रमा ८० देखि ८८ प्रतिशत योगदान साना तथा मझौला व्यापारको रहेको छ।  रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell