
पोखरा : युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज पोखरामा उद्घाटन गर्दै केसीले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताए।
पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताए।
खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाको तयारी गर्न लागेको उनले जानकारी दिए।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिए। रासस