
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताएका छन्।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशको समृद्धिका लागि पनि एमालेको बहुमत आवश्यक भएको बताए।
ओलीले दुई छिमेकी देशसँग मित्रवत् र समान सम्बन्ध राखेर टकरावमा नपरी नेपालले आफ्नो हितका पक्षमा काम गर्नुपर्ने बताए।
छिमेकीसँगको पुराना मानसिकता र व्यवहार परिवर्तन गरेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले छिमेकीलाई डुबान गराउन र सीमा स्तम्भ सार्ने जस्ता काम नगर्न आग्रह गरे।
कार्यक्रममा नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी’ नेकपा एमालेमा समाहित भएको घोषणा गरिएको थियो।
एमाले उपाध्यक्ष वामदेव गौतमले साम्राज्यवादी र पूँजीवादीले एमालेमाथि प्रहार गरिरहेका बेला एउटा सिंगै पार्टी एमालेमा आएर थप राष्ट्रिय एकता जोगाउन सहयोग पुग्ने बताए।
कार्यक्रममा नवप्रवेशीका तर्फबाट लोकतान्त्रिक पार्टीका अध्यक्ष चूडादेवसिंह लामा, संरक्षक वसन्तराज कुँवर र वरिष्ठ नेता धरणीधर खतिवडाले एमालेको देशप्रति देखिएको झुकावका कारण आफूहरु त्यसमा प्रवेश गरेको बताए। रासस