PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने



पहिलोपोस्ट

नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने

चितवन :  नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी बुधबारदेखि चौबीसै घण्टा सडक सञ्चालन गर्न लागिएको हो। 

विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ। 

मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो। 

मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए।

यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका गराइने पनि उनले बताए।

ट्राफिक प्रहरी चितवनका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने छ। 

यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ। राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउनेलगायत तयारी गरिएको छ। 

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० जना प्रहरी परिचालन गरिएको छ।

मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन्। सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ। 

समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताए।

कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ। राजधानीबाट दशैं, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ। अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell