
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल यू-१९ ले भोली बुधबार भुटान यू-१९ सँग खेल्दैँछ। पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने भुटान सिंगापुरसँग ९ विकेटले हारेको थियो।
नेपालको जितमा अनिल शाहले ९१ रन बनाएका थिए भने प्रनित थापा मगरले अर्धशतक प्रहार गरेका थिए। यस्तै बलिङमा सन्दीप लामिछाने ६ रन मात्र दिएर ७ विकेट लिएका थिए।
दोस्रो खेलमा पनि नेपाल पहिलो खेलमा जस्तै राम्रो खेल्ने योजनामा छ। नेपालका मुख्य प्रशिक्षक विनोद दासले प्रत्येक खेलाडीले २० रनभन्दा माथि बनाउनुपर्ने बताएका छन्।
'हाम्रो सुरवातको सबै खेलाडीले २० रनभन्दा माथी प्रहार गर्नुपर्छ। त्यसपछि २/३ खेलाडीले अर्धशतक/शतक प्रहार गर्ने कोसिस गर्नुपर्छ। पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पुरा गरेका थिए।' भुटानसँग खेल्नुअघि दासले भने।
उनले भुटानले पनि नेपालसँग राम्रो टक्कर दिएर खेलोस् भन्ने चाहेका छन्। 'हामी हरेक दिन खेल सुधार गर्ने सोचमा अगाडि बढिरहेको छौँ। अहिले हामी धेरै अगाडि सोचेको छैनौँ। भोली भुटानलाई जित्नेमात्र सोचेको छौँ। हाम्रो लक्ष्य पक्कै पनि च्याम्पियन बनेर एसिया कप छनोट हुने हो।'
यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले भुटानको बारेमा धेरै जानकार नभए पनि आफ्नो स्तरको खेल खेल्ने बताए। 'भुटानको बारेमा मलाई धेरै थाहा छैन। तर हामी आफ्नो खेलमा विश्वास गर्छाैँ। हाम्रो स्तर अनुसारको खेले प्रतियोगिता जित्न हामीलाई कठिन हुँदैन।'
ऐरीले यस प्रतियोगितालाई एसिया कपको तयारी रुपमा लिएका छन्। 'जारी प्रतियोगिता एसिया कप तयारीमा लिएको छौँ। हामी जुन ठाउँमा छौँ। त्यहाँबाट अगाडि बढेर भविष्य खोज्न जरुरी छ। एसिया कप खेल्नको लागि पनि हामीले यहाँबाट च्याम्पियन भएर फर्कनुपर्छ।'