
बङ्गलादेश : म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ।
यसै विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषदले बुधबार आकस्मिक बैठक बोलाएको छ। रोहिङ्गा समुदायका नागरिकमाथि भएको ज्यादतिकाबारे बैठकमा छलफल हुने बताइएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि सोमबार गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। आयोगका प्रमुख जियाद राद अल हुसेनले म्यानमारको उक्त समुदायमाथिको ज्यादती नियोजित भएको बताएका थिए।
उनले कुनै विशेष जातीमाथि ज्यादती भएको देखिएको र यो कार्य नियोजित रुपमा गरिएको पाइएको भन्दै यसतर्फ म्यानमार सरकारको विशेष ध्यानाकर्षण गराएका थिए।
राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै भएको आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन्।
विस्थापितहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन्।
अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ। उनीहरुलाई त्यहाँ खान, बस्नका साथै आधारभूत आवश्यकतासमेतको व्यबस्था नरहेको बताइन्छ।
म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ। रासस/एएफपी