काठमाडौं : फिल्म 'दि कर्मा'को मंगलबार औपचारिक घोषणा भएको छ। एक महिनाअघि फिल्म युनिटले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रिप्रोडक्शन तयारी बारे जानकारी दिइएको थियो।
अब फिल्मले फ्लोरमा उत्रने जानकारी र शीर्ष कलाकारको नाम सहित फिल्मको घोषणा गरेको हो। मंसिर अन्तिम साताबाट छायांकनको लागि फ्लोरमा जाने फिल्ममा बलिउड र साउथ इन्डियन फिल्ममा सक्रिय कलाकार दिपक आनन्दको प्रमूख भूमिका रहनेछ। दिपकले 'लभ सब प्यार व्यार', 'अञ्जान', 'ह्यांग टिल डेथ' लगायतका टलिउड तथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन्।
दिपकले भारतबाट नेपालको सीमा क्षेत्रमा बसोबास गरिरहेका युवा पात्रको भूमिका निभाउँदै छन्। उनीसँगै करण कुमार वर्मा, करण आहुजा, नसीमा आचार्य, अनुप सक्सेना र क्षितिजा शाक्यको पनि अभिनय रहनेछ।
तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित विषय उठान गरिने फिल्म विश्वदिप घिमिरेको निर्देशनमा बन्न लागेको हो। फिल्म नेपाल र भारत सीमा क्षेत्रमा रहेका नेपालीहरुको जीवन कथामा आधारित रहेने बताइएको छ। जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको प्रस्तुती 'दि कर्मा'को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ।
जय राज रोए र निशा खतिवडा निर्माता रहेको दि कर्मा नेपाली र हिन्दी भाषामा बन्नेछ। नेपाली भाषामा तयार हुने फिल्म हिन्दीमा डब गरिने बताइएको हो। फिल्ममा रामेश्वर कार्कीको छायाँकन, जय राज रायको कथा, शुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । जय राज राय र नीशा खतिवडाले फिल्म निर्माण गर्न लागेका हुन्।