काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ।
प्राधिकरणले सोमबार लम्कीस्थित सवस्टेशनलाई १३२/३३ केभी क्षमतामा स्तरोन्नति गरेको हो। आठ एमभीए क्षमतामा रहेको ट्रान्सफर्मरलाई पनि १६ एमभीएमा रुपान्तरण गरिएको छ।
लम्कीमा रहेको ट्रान्सफर्मरको स्तरोन्नति गरिएपछि टीकापुर र लम्की क्षेत्रमा भइरहेको अघोषित विद्युत्भार कटौती अन्त्य हुने भएको छ।
भोल्टेजको समस्याका कारण सुदूरपश्चिममा देखिएको समस्या समाधान भएको प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख तारानाथ शर्माले जानकारी दिए।
ट्रान्सफर्मरको अपग्रेड र १३२/३३ केभी क्षमताको सवस्टेशनमा स्तरोन्नतिपछि ती स्थानमा हुने भोल्टेज तथा ओभरलोडको समस्या समाधान भएको शर्मा बताउँछन्।
सुदूरपश्चिम क्षेत्रमा प्राविधिक समस्याका कारण प्राधिकरणले वितरण गरेको विद्युत् प्रणालीमा नियमित समस्या आउने गरेपछि राजनीतिक नेतृत्व र उच्च अधिकारीले सधैँ प्राधिकरणको नेतृत्वलाई ध्यानकर्षण गराउँदै आएका थिए।
प्राधिकरणले ती स्थानमा विद्युत्भार कटौतीको अन्त्य गरेको घोषणा गरे पनि हाफ लाइन आउने, बिना कुनै सूचना लाइन काटिने जस्ता समस्या रहेका थिए।
धनगढीका उद्योगी तथा व्यवसायीले अघोषित विद्युत्भार कटौती हटाइदिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित तथा मौखिक रुपमा आग्रह गरेका थिए।
स्थानीय उद्योगी तथा व्यवसायीको आग्रहपछि दाहालले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विशेष पहलमा अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख शर्मालगायतको प्राविधिक टोलीले सोमबारदेखि समस्या समाधान गरेको छ।
केही दिन पहिले स्थलगत अवलोकनमा पुगेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले एकाध दिनमा समस्या समाधान हुने बताएका थिए।
मुलुकको केन्द्रीय प्रसारण लाइनको क्षमता विस्तार नभएको र भारतबाट आएको विद्युत्को भोल्टेज तलमाथि हुँदा सबैभन्दा बढी मारमा भीमदत्तनगर, धनगढी, नेपालगञ्जलगायतका सहर मारमा पर्दै आएका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ट्रान्सफर्मर र सवस्टेशनको क्षमता विस्तारपछि रातको समयमा खेर जाने विद्युत्समेत सुदूरपश्चिम र आसपासको क्षेत्रमा पठाउन सकिने बताए।
रातको समयमा बढी हुने विद्युत् कोहलपुर पश्चिम पठाउन रहेको समस्यासमेत समाधान भएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक घिसिङले सबै क्षेत्रमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषय नै हालको प्रमुख चुनौती रहेको भन्दै क्षमता विस्तार तथा अन्य प्राविधिक तयारी समेत युद्धस्तरमा अगाडि बढेको बताए।
विशेष गरी भारतबाट ३३ केभी क्षमतामा आयात गरिएको विद्युत्मा भोल्टेजको समस्या बढी आउने गरेको छ।
बढी भार हुने तथा कुन बेला बत्ती जान्छ भन्ने नै थाहा नहुने अवस्थाबाट सुदूरपश्चिमले केही हदसम्म मुक्ति पाएको अत्तरिया क्षेत्रीय प्रमुख शर्माले बताए।
यस्तै वितरण प्रणालीका अधिकांश प्रसारण लाइन ११ केभीको रहेको र लामो दूरीमासमेत हुने भएकाले पनि केही स्थानमा अझै समस्या रहेको छ।
प्राधिकरणले त्यस्तो समस्या हटाउन अभियानकै रुपमा ट्रान्सफर्मर तथा सवस्टेशनको क्षमता विस्तार गर्ने कार्य सुरु गरेको जनाएको छ। रासस