
युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको २०१७/१८ सिजन आज राती देखि शुरु हुँदैछ।
आज राती नेपाली समयअनुसार कूल ८ खेल हुनेछन्। जसमा गत वर्ष क्वाटरफाइनलमा भिडेका स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्स बीचको खेलसमेत छ। गत सिजन क्वाटरफाइनलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको थियो।
यी दुवै क्लब अहिले घरेलु लिगमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै लिगको शीर्ष स्थानमा छन्।
समूह डीअन्तर्गत हुने खेलमा बार्सिलोनाले घरेलु मैदानमै युभेन्ट्ससँग खेल्नेछ। यसै समूहको अर्को खेलमा स्पोर्टिङ सिएफ र ओलम्पियाकोस खेल्नेछन्।
इटालियन च्याम्पियन युभेन्ट्सलाई यस पटक नोउ क्याम्प भ्रमण त्यति सहज भने छैन। किनकी सस्पेन्स इन्जुरीका कारण ओल्ड लेडीका ५ खेलाडी टिमसँग छैनन्। जुवान क्वार्डाडो सस्पेन्समा छन् भने सामी खेडिरा, क्लाउडियो मार्सिसियो, जर्जियो किलेइनी र मारियो मान्डुकिच चोटले गर्दा टिमसँग छैनन्।
अर्को स्पानिस क्लब एथ्लेटिको मड्रिडले अर्को इटालियन क्लब रोमासँग रोममा समूह सी को पहिलो खेल खेल्नेछ। यसै समूहमा रहेको चेल्सी र घरेलु मैदानमा अजरवैजानी क्लब क्वारावागसँग प्रतिस्पर्धा गर्नेछ।
अर्कव इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले पनि समूह ए को खेलमा घरेलु मैदानमै स्वीस क्लब बासेलसँग खेल्नेछ भने अर्को खेलमा वेनफिका र सिएसकेए मस्को बीच हुनेछ।
यता च्याम्पियन्स लिग जस्तै प्रतियोगिता जित्नलाई विश्व कीर्तिमानी रकममा नेमार र अनी लोनमा केएलिन एमबापेलाई क्लब भित्र्याएको पेरिस सेन्ट जर्मेनले सेल्टिकको भ्रमण गर्नेछ । यसै गरी जर्मन क्लब वायर्न म्युनिखले घरेलु मैदानमा बेल्जियन क्लब एन्डरलेक्टसँग प्रतिस्पर्धा गर्नेछ।