काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताएका छन्।
संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई मंगलबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै प्रचण्डले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन।”
मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दतिर संकेत गर्दै उनले भने, “केही मान्छेहरु अझै पनि निद्रामा नै छन् । उनीहरु ब्युँझने बित्तिकै एकता प्रक्रिया आउँछन् । जो जहाँ ब्युँझियो, त्यहीँबाट अभियानमा केन्द्रित हुनु जरुरी छ।”
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले छुट्टाछुट्टै नबस्न निर्देशन दिएको भन्दै उनले माओवादी धारामा नै रहेका र त्योभन्दा बाहिर रहेका जुनसुकै शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुनै पर्ने बाध्यतासमेत आइपरेको बताए।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन अभियान चलिरहँदा तराई मधेसमा माओवादीको पक्षमा उल्लेख्य जनउभार आएको भन्दै अध्यक्ष प्रचण्डले भने, “हिमाल, पहाड तथा तराईलाई एकताबद्ध बनाएर लैजाने शक्ति माओवादी मात्रै हो भन्ने जनस्तरमा स्थापित भएको छ। यसले संघीय र प्रदेश निर्वाचनसम्म पुग्दा माओवादी पुनः बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने अवस्था देखिएको छ।”
माओवादीले अगाडि सारेको राष्ट्रिय कार्यसूची एवं राष्ट्रिय एजेण्डाका कारण जनउभार आएको भन्दै अध्यक्ष प्रचण्डले साँघुरो सोच र मानसिकता त्यागेर एकीकृत राष्ट्रिय एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशामा लैजाने उनको भनाई थियो।रासस