राजविराजः प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले निर्वाचनमा सबैलाई उत्साहपूर्वक भाग लिन आग्रह गरेका छन्।
नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा मंगलबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको बदलिँदो परिस्थितिमा जनताको भलो गर्ने पार्टी काँग्रेस नै भएकोले प्रदेश नं २ मा पनि आफ्ना पार्टीका उमेदवारलाई विजयी गराउन आग्रह गरे।
देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा मधेसी, दलित, जनजातिको समस्या समाधान गर्न आफूले संविधान संशोधन विधेयक ल्याएको तर नेकपा एमालेको असहयोगको कारण विधेयक पास हुन नसकेको र मधेसको समस्या जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै उनले अगामी दिनमा काँग्रेसको बहुमत आएमा मधेसको समस्या समाधन हुने विश्वास दिलाए।
प्रधानमन्त्री देउवाले ‘मधेसका मसिहा’ भन्ने मधेसवादीदलबीच व्यापक किचलो र भेदभाव रहेकाले मधेसवादी पार्टीले भन्दा काँग्रेसले तराई मधेसको समस्या समाधान गर्ने दाबी गरे।
प्रतिपक्षी दल एमालेले एकदलीय तानाशाही व्यवस्था लाद्न खोजेको र मधेसमा भेदभाव र तानाशाह बन्न खोजेको आरोप उनले लगाए ।
तराई मधेसमा वर्षेनी हुने बाढी तथा डुबानको समस्या समाधानका लागि भारतीय समकक्षी नरेन्द्र मोदी तथा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटी समस्या समाधानका लागि छलफल गरेको र छिट्टै समस्या समाधान निस्केन विश्वास दिलाउँदै प्रधानमन्त्री देउवाले काँग्रेसले सुरु गरेको हुलाकी सडकको निर्माणमा आफू लागिरहेको बताए।
उनले यतायात, सिंचाइ र कृषि क्षेत्रको दिगो विकासका लागि काँग्रेस योजनाबद्ध रुपमा काम गर्ने पार्टी भएकाले आफ्नो पार्टीको उमेदवारलाई विजयी गराउन आग्रह गरे।
सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले, दक्षिणपन्थी र प्रतिगमनकारी शक्ति भएका कारण संविधान संशोधन सफल हुन नसकेको आरोप लगाए।
उनले तराई मधेसको सम्मान र पहिचानको पक्षमा काँग्रेस उभिएकोले मधेसको समस्या समाधान गर्न काँग्रेसको विकल्प नभएको बताए।
मधेसी र पहाडी समुदायबीच कुनै किसिमको भेदभाव नरहेको दाबी गर्दै नेता पौडेलले केही नेताको स्वार्थको कारणले तराईमाथि भेदभाव भएको उनले बताए।
महामन्त्री डा शशांक कोइरालाले काँग्रेस लोकतन्त्रको संस्थागत विकासमा लागेको र निरंकुशताको विपक्षमा रहेको बताए।
नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस पार्टी देशको ऐतिहासिक एवं जिम्मेवार, समावेशी पार्टी भएको र छुटटै सैद्धान्तिक विचार धारा भएको पार्टी भएकाले आफ्ना पार्टीका उमेदवारलाई विजय गराउन अपिल गरे।रासस