PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मधेशमा ७० सिट जित्ने एमालेको दावी : के ओली मधेश झर्दैनन्?



आकाश क्षेत्री

मधेशमा ७० सिट जित्ने एमालेको दावी : के ओली मधेश झर्दैनन्?

 काठमाडौं : आगामी असोज २ गते प्रदेश नम्बर-२ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरु सम्पूर्ण शक्ति लगाएर प्रचारमा जुटिरहेका छन्। त्यस्तै, अभियानमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि छ।

पहिलो र दोस्रो चर्को स्थानीय तह निर्वाचनबाट पहिलो शक्तिका रुपमा देखिएको एमाले तेस्रो चरणको निर्वाचन त्यही शाख कायम राख्न लागिपरेको छ। एमाले  प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टरार्इले दुर्इ नम्बर प्रदेशमा पनि एमालेको स्थान पहिलो नै हुने दावी गरे।

‘नेकपा एमालेका कुरा मधेशका जनतालार्इ अहिलेसम्म कसैले सुन्न दिएको थिएन,' भट्टरार्इले पहिलोपोस्टसँग भने, 'उनीहरुले अहिले एमालेका कुरा सुनेर ऐक्यबद्धता जनाएका छन्।’ उनले प्रदेश नम्बर-२ का आठ जिल्लामा रहेका १३६ सिटमध्ये ७० सिट एमालेले जित्ते दावी गरे। ‘हामीले पाएको रिपोर्ट र दुर्इ नम्बर प्रदेशका जनताको मनोभाव हेरेर ७० सिट जित्छौँ भन्नेमा हामी विश्वस्त छौं,’ भट्टराईले भने।

के ओली मधेश झर्दैनन्?

सत्तारुढ दल कांग्रेसतर्फबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आजदेखि सप्तरीबाट पार्टीको चुनाव प्रचार अभियानमा मधेशमा छन्। सप्तरीको राजविराजबाट प्रचार थालेका देउवा आगामी ३० गते विरगञ्ज पुगेर काठमाडौं फर्कने छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त करिब एक महिनादेखि मधेसमै बसेर प्रचार अभियान चलाइरहेका छन्। तर, मेची महाकाली अभियानमा मधेस झरेका एमाले अध्यक्ष केपी शर्मा ओली सप्तरीबाट दुई नम्बर प्रदेशमा अभियान रोक्न बाध्य भए यता मधेश झरेका छैनन्।

ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्यान्ड पुगेका बेला मधेसमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले 'एमाले निषेध' भनेर नारा लगाएका थिए। उपचार गराएर फर्कैदै गर्दा विमानस्थलबाटै 'राजपालार्इ राजनीति गर्न मन छ कि छैन?' भन्दै धम्क्याएका ओली अहिलेसम्म मधेश झरेका छैनन्। स्थानीय तह निर्वाचनको मिति आउन एकसाता मात्र बाँकी रहँदासमेत मधेश नझरेका ओली के मधेश नजान लागेका हुन्?

सचिव योगेश भट्टरार्इकाअनुसार ओलीले केही प्रविधिक समस्याका कारण अहिलेसम्म मधेश नझरे पनि भोलिदेखि त्यसतर्फ जान लागेका हुन्।

‘भोलिदेखि नै उहाँको मधेशका चुनावी सभामा सहभागी हुने कार्यक्रम बनिसकेको छ,’ सचिव भट्टरार्इले पहिलोपोस्टसँग भने।

तालमेल नगर्ने

सचिव भट्टराईले दुर्इ नम्बर प्रदेशमा नेकपा एमाले कुनै पनि दलसँग तालमेल नगर्ने घोषाणा गरे। पहिलो र दोस्रो चरण जस्तै तेस्रो चरणमा पनि एमाले जितमा विश्वस्त भएका कारण कसैसँग तालमेल नगरेर चुनावमा उत्रिन लागेको भट्टराईले बताए।

प्रदेश नम्बर-२ का एमाले चुनावी सारथीमध्येका एक प्रदीप ज्ञवाली एमालेको पकड राम्रो भएकोले तालमेल आवश्यक नभएको बताए।

'तालमेल भनेको प्रतिस्पर्धी बलियो भएमा प्रतिस्पर्धीलार्इ हराउनको लागि गर्ने गरिन्छ,' ज्ञावालीले पहिलोपोस्टसँग भने, 'तर, दुर्इ नम्बर प्रदेशमा हाम्रीभन्दा बलियो शक्ति देखिएको छैन। सबै प्रतिस्पर्धी  नै छन। प्रतिस्पर्धीसँगै तालमेल गर्न त सकिदैन नि।’

एमालेले प्रदेश नम्बर-२को चुनावी कमाण्डर महासचिव इश्वर पोखरेललाई तोकेको छ। तर, प्रदेश नम्बर दुईका जिल्ला जिल्लामा पुगेर पार्टीको तर्फबाट कमाण्ड भने वरिष्ठ नेता माधवकुमार नेपालले समालेका छन्।

 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell