
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न कप क्रिकेटमा आयोजक मलेसियासँगै नेपाल, सिंगापुर र हङकङले समूह चरणको एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएका छन्।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपालले भुटानलाई ९ विकेट हराउँदै लगातार दोस्रो जित हासिल गरेपछि सेमिफाइनल पुग्ने चार टिमको टुङ्गो लागेको हो।
मलेसियाको किनरारा ओभलमा नेपाली बलर चम्केपछि भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
लगातार दुई जितपछि नेपाल र सिंगापुर समूह एबाट सेमिफाइनल पुगेका हुन्। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले हराएको थियो भने भुटान सिंगापुरसँग पनि ९ विकेट नै पराजित भएको थियो।
सिंगापुरले दोस्रो खेलमा थाइल्याण्डलाई ९२ रनले हराएको थियो। अब नेपाल र सिंगापुरबीच हुने खेलले समूह विजेताको छिनोफानो हुनेछ।
लगातार दुई हारपछि भुटान र थाइल्याण्ड भने समूह चरणबाटै बाहिरिएका छन्।
यस्तै समूह बीबाट लगातार दुई खेल जितेका आयोजक मलेसिया र हङकङ सेमिफाइनलमा पुगेका छन्। दुवैले चीन र म्यानमारलाई हराएको थियो।
समूह चरणबाटै बाहिरिएको म्यानमारले चीनलाई १० विकेटले हराउँदै सान्त्वना जित हात पारेको छ।
३३ रनको लक्ष्य म्यानमारले १२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।
मलेसियामा भइरहेको प्रतियोगिताबाट फाइनल पुग्ने दुई टिम इस्टर्न रिजनबाट यू-१९ एसिया कपका लागि छनोट हुनेछन्। यस्तै वेस्टर्न रिजनबाट पनि फाइनल पुग्ने दुई टिम यू-१९ एसिया कपका लागि जानेछन्।
यी चार टिमले एसियाका टेष्ट खेल्ने चार देश भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको यू-१९ टिमसँग मलेसियामै बगामी नोभेम्वरमा हुने यू-१९ एसियाकपमा प्रतिस्पर्धा गर्नेछन्।