PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

यस्ता हुन्छन् डिम्बाशय अर्बुदका लक्षण



पहिलोपोस्ट

यस्ता हुन्छन् डिम्बाशय अर्बुदका लक्षण

काठमाडौं :  विभिन्न प्रकारका अर्बुदमध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ। 

वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इका अनुसार विश्वको पाँचौँ र नेपालमा चौँथो नम्बरमा डिम्बाशयको अर्बुद पर्छ। डिम्बाशयको अर्बुद भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिन सक्छ। 

क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुनका अनुसार डिम्बाशय अर्बुद निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता गरिहाल्नु पर्ने जस्तो नहुने हुन्छ। 

महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ जुन प्रजनन् प्रणालीको एक महत्वपूर्ण अंग हो।

डिम्बाशयको अर्बुदको कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने चिकित्सक बताउँछन्। 

डा. चापागाईका अुनसार ४०-५० वर्षका महिला, पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको अर्बुद भएका बिरामी, परिवारमा अरु कसैलाई अर्बुद भएको छ भने शिशु नजन्माएका महिलामा डिम्बाशयको अर्बुद हुने उच्च सम्भावना रहन्छ। 

तल्लो पेट र कम्मर दुख्ने, विनाकारण पेट बढ्ने, पेट फुलेको जस्तो, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाही रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास, कहिलेकाही पातलो दिसा र कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको अर्बुद हुन सक्छ। 

रेडियोलोजिकल जाँच, अल्ट्रासाउण्ड अफ एब्डोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरेर तथा रगत र मासुको जाँच गरेर अण्डाशय अर्बुद भएको हो होइन पत्ता लगाइन्छ। 

विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतना मूलक र अन्य कार्यक्रम गरिन्छ। 

विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले भनिन ‘अझै दक्ष जनशक्ति र जनचेतनामा कमी र उपचार प्रणालीमा पछाडि भएकाले पनि नेपाल अर्बुदको न्यूनीकरणमा पछि परेको हो।’

उनले अर्बुद गराउने कारक तत्वबारे सजग हुन सकेमा जोखिमको सम्भावना कम हुन सक्ने भएकाले यसबारे जनचेतना फैलाउनु पर्नेमा जोड दिइन्। 

अहिले नेपालमा हुने करिब ७० प्रतिशत मृत्यु अर्बुद जस्ता नसर्ने रोगका कारण हुने गरेको विज्ञ बताउँछन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell