
रोल्पा : मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ। तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ।
औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ।
कुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी भएको जिल्लाबाहिर पठाउने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले जानकारी दिए। पशुजन्य उत्पादनअन्तर्गत दूध र अण्डामा भने अझै अपुग हुँदै आएको छ।
जिल्लामा वर्षेनी ४९ लाख ३३ हजार लिटर दूध उत्पादन हुँदै आएको छ। औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्ने भएपनि जिल्लामा औसत प्रतिव्यक्ति २१ लिटर दूध मात्रै उपलब्ध हुँदै आएको छ।
व्यावसासिक रुपमा गाई तथा भैंसीपालन कम भएको डा उपाध्याय बताउँछन्।
यसैगरी अण्डा उत्पादन जिल्लाको आवश्यकताभन्दा कम देखिएको छ। औसत राष्ट्रिय आवश्यकताअनुसार व्यक्ति व्यक्ति ४८ वटा अण्डा आवश्यक पर्छ।
तर हाल जिल्लामा १४ वटा अण्डा मात्रै उपलब्ध हुँदै आएको छ। कुखुरापालन गर्नेको सङ्ख्या बढे पनि अण्डाका लागि कुखुरा पाल्ने निकै कम भएकाले अण्डा उत्पादनमा कमी आएको हो। रासस