
काठमाडौं : निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ।
मतदाता परिचयपत्र लिन भरसक आफै मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको छ।
आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ।
स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ।
गैरसरकारी संघ संस्थामार्फत पनि यस पटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडक नाटकलाई पनि जोड दिइएको छ।
आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले दिए।
निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६२७ प्रतिनिधिको चयन हुने छन्।
प्रदेश नं २ का स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी परेको छ। निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन्। रासस