
चितवन : भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली छन्। जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताए। अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन।
अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ। निजलाई म्याद थप गरी कर्तब्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ।
त्यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनले २०७० माघ ११ गते चार वर्षीया बालिकालाई ललाइफकाई करणी गरेका प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१ का २२ वर्षीय विवेक खतिवडालाई सात र चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो।
त्यस्तै, प्रहरीले प्रतिबन्धित लागूऔषध ओसारपसारमा संलग्न नवलपुरको गैंडाकोट नगरपालिका–१ का ३४ वर्षीय खुमराज सापकोटालाई नारायणगढबाट पक्राउ गरेको छ। रासस