
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दुई नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्वारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचार प्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका हुन्।
उनले भने,‘चुनावमा उम्मेद्वारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौँ, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी कारबाही गर्छौं, उम्मेद्वारी नै खारेजसम्म गरिदिन्छौं।’
यद्धपि उनले मधेसमा अहिले सामाजिक–सांस्कृति पर्व चलिरहेकाले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने बताए।
उनले उम्मेद्वारहरुले खर्च गरेको भए ती उम्मेद्वारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीसँग आग्रह गरे।
यादवले भने,‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भैसकेपछि प्रतिस्पर्धा हुनु स्वभाविक हो।’
निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको पूर्ण ध्यानाकर्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने बताए।
‘के गर्नु प्रधानमन्त्रीलाई कारवाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यतीहो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैँन, तर यसको मतलब यो होईन कि आयोग निरीह भने छैन।’
आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग जवाफ पनि दिएको उनले बताए।
यादवले भने,‘प्रधानमन्त्रीज्यूले भन्नु भएको छ कि अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता हो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढी विवाद गर्न चाहँदैन।’
यस्तै, उनले निर्वाचन आचारसंहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरणसमेत मागिएको बताए।
उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचार संहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।’