PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

नागरिकता पाउनु नै स्वर्ण पदक बराबर : मुक्केवाज सुशील



पहिलोपोस्ट

नागरिकता पाउनु नै स्वर्ण पदक बराबर : मुक्केवाज सुशील

काठमाडौं : लामो समयदेखि नागरिकता नभएका कारण कठिनाइ भोगी रहेका राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले बुधबार नागरिकता पाएका छन्। सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिक नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गइ सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए। सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजीका स्वर्ण विजेता हुन्।

राखेप सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउँदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको धारणा व्यक्त गरे। उनले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपले सुशीललाई नागरिकता दिलाउन पहल गरेको बताउँदै १३औं सागको तयारीका लागि सुशीललाई वैदेशिक प्रशिक्षणमा पठाउन बाटो खुलेको बताए।

सदस्य–सचिव विष्टले खेल क्षेत्रको मात्र नभइ अन्य क्षेत्रका नागरिकता पाउनबाट छुटेको प्रतिभाहरुको पनि खोजी गरी नागरिकता दिन सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदा आफू निराश हुनुपरेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए। उनले बक्सिङ परिवारका साथै नागरिकता दिलाउन पहल गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अब आफ्नो लागि भन्दा पनि देशका लागि केहि गर्छु भन्ने अठोट लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell