काठमाडौं : पहिलो र दोस्रो चरणको निर्वाचनमा एकै दिन तीन स्थानका सभालाई सम्बोधन गर्न दौडधुप गरेका एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो चरणको प्रदेश २ को स्थानीय चुनावमा अहिलेसम्म मधेस झरेका छैनन्।
अध्यक्ष ओली निर्वाचन प्रचारका लागि मौन अवधि सुरु हुनभन्दा केही घन्टा अघिमात्र मधेस झर्ने योजनामा छन्। ओली भदौ ३० गते निर्वाचन प्रचार सभालाई सम्बोधन गर्न मधेस झर्दैछन्।
निर्वाचन कार्य तालिकाअनुसार ३० गते मध्य रातदेखि मौन अवधि सुरु हुन्छ।
एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार ओलीले चुनाव प्रचारका लागि एक दिन समय दिएका छन्।
‘अध्यक्ष ज्यू ३० गते मधेस जाने कुरा छ। एक दिनमा जति सकिन्छ दुर्इ तीन वटा जिल्लामा पुग्ने कार्यक्रम तयार पारेका छौं’ एमाले सचिव ज्ञावालीले पहिलोपोस्टसँग भने।
सचिव ज्ञावालीका अनुसार ओलीले बारा, लगायतका जिल्लाहरुमा हुने चुनावी सभालार्इ ओलीले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा हिजोदेखि सप्तरीबाट पार्टीको चुनाव प्रचार अभियानमा मधेसमा छन्। सप्तरीको राजविराजबाट प्रचार थालेका देउवाले आगामी ३० गते वीरगन्ज पुगेर काठमाडौं फर्कनेछन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिव एक महिनादेखि मधेसमै बसेर प्रचार अभियान चलाइरहेका छन्। तर, मेची महाकाली अभियानमा मधेस झरेका एमाले अध्यक्ष ओली सप्तरीबाट दुई नम्बर प्रदेशमा अभियान रोक्न बाध्य भए यता मधेश झरेका छैनन्।
एमालेले प्रदेश नम्बर–२ को चुनावी कमाण्डर महासचिव ईश्वर पोखरेललाई तोकेको छ। तर, प्रदेश नम्बर २ का सबै जिल्लामा पुगेर पार्टीको तर्फबाट कमाण्ड भने वरिष्ठ नेता माधवकुमार नेपालले सम्हालिरहेका छन्।