PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने



रासस

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

वासिङ्गटन (डिसी) : अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर करिब ५० अर्ब रुपैयाँ बराबरको सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्नेछन्।

यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारको १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ। यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ।

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले संक्षिप्त कुराकानीमा भने ‘नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो। यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ।‘

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो। एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौताअन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालको विद्युत् सेवामा सुधार र सडक विस्तारमा यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तर माथि उकास्न र देशको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell