
काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १३ जना फिल्मकर्मीले आवेदन दिएका छन्। राजकुमार राईको कार्यकाल सकिएपछि विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि प्रतिस्पर्धात्मक छनोट गर्ने बारे सूचना सार्वजनिक भयो। खुला प्रतियोगिताको आधारमा बिकास बोर्डका अध्यक्ष नियुक्ति गर्न सञ्चार मन्त्रालयले १५ दिने विज्ञापन आह्वान गरेको थियो।
आवेदन हाल्नेमा चलिचत्र निर्देशक उज्ज्वल घिमिरे, सुचित्रा श्रेष्ठ, सुदिपकुमार रेग्मी, नरेश केसी, निकिता पौडेल, होतराज शर्मा, आयुष रिजाल (गोपाल), विशाल श्रेष्ठ, आलोककुमार तिवारी, मनिष पण्डित, चोपेन्द्रसागर पराजुली, योगेश घिमिरे (टिकाराम), सुष्मा थापा कार्की रहेका छन्।
चलचित्र विकास बोर्डका लागि अध्यक्षको रिक्त पदमा रामचन्द्र ढकालले कामु पाएका थिए। ढकाल खुला प्रतिस्पर्धाबाट हुने चयनका लागि गठन गरिएको छनोट समितिको अध्यक्ष समेत हुन्। उनको संयोजकत्वमा गठन सिफारिस समितिले आवेदन दिएका मध्ये तीज जनालाई अन्तर्वातामार्फत छान्ने सूचना मन्त्रालयकी उप सचिव संगीता ओझाले जानकारी दिइन्। भनिन्,'आवेदन भरेकामध्य क्राइटेरिया मिट गरेका सम्पूर्णलाई एक हप्तासम्ममा अन्तर्वाताको लागि बोलाउँने छौं। र अन्तर्वाताबाट छानिएका तीनको नाम क्याबिनेटमा दिने हो।'
मन्त्रिपरिषद् बैठकमा पेस हुने तीन नामहरुबाट एकजना अध्यक्ष पदका लागि नियुक्त हुनेछन्। रिक्त पदमा प्रतिस्पर्धामार्फत कोही छनोट नभएसम्म रामचन्द्र ढकालले नै कार्यभार सम्हाल्ने छन्।