PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पशुपति शम्शेरको राजावादी अभिव्यक्ति : पूर्व राजालाई उर्जा, गणतन्त्रवादीलाई झट्का 



सूर्य खड्का

पशुपति शम्शेरको राजावादी अभिव्यक्ति : पूर्व राजालाई उर्जा, गणतन्त्रवादीलाई झट्का 

नवगठित राप्रपा प्रजातान्त्रिक पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले बिहीवार बिराटनगरको पत्रकार सम्मेलनमा राजसंस्थालाई कुनै न कुनै स्थान दिइनुपर्ने प्रस्ताव गरेर आफ्नो दलको नीतिगत बाटोबारे स्पष्ट गरेका छन्। अध्यक्ष राणाले दिएको अभिव्यक्तिसँगै राजावादी भनिने दलहरू बीचमा मात्रै होइन गणतन्त्रवादी सत्ता सहयात्रीहरूसँग पनि नयाँ बहस र तरङ्ग सुरु गरेका छन्। 

अध्यक्ष राणाले स्थानीय तहको तेस्रो चरणको चुनाव सम्पन्न हुन केही दिनमात्रै बाँकी रहँदा अप्रत्याशित रुपमा राजतन्त्रले पनि केही न केही स्थान पाउनुपर्ने धारणा अघि सारे। सिधै राजा वा राजसंस्थाको नाम नलिए पनि उनले स्थानीय पत्रकारहरूसँग परम्परागत संस्थालाई कुनै न कुनै स्थान दिनुपर्छ भन्दै राजसंस्थालाई स्थान दिनुपर्ने बताएका हुन्। उनले पृथ्वी नारायण शाहको नामै लिएर देश निर्माता भएको बताइरहँदा परम्परागत  शक्तिको रुपमा अर्थ्याउँदै राजसंस्थाको हैसियत माग गरेका छन्।

केही हप्ताअघि मात्रै कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर दलको पुर्नगठन गरेका राणाले विराटनगरमा गएर आफ्नो नेतृत्वको दल राजसंस्थावादी भएको उद्घोष गरे। विराटनगर त्यही शहर हो जहाँबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देश गणतन्त्रमा जानुअघि नै बेबी किङको माग गरेका थिए।

कमल थापा नेतृत्वको राप्रपाले आफूहरू मात्रै राजसंस्थाको मुद्दा बोक्ने असली राजसंस्थावादी भएको दाबी गरिरहेका बेला नवगठित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले पनि कमल थापा भन्दा अघि बढेका छन्। 

यसले राणा नेतृत्वको दल पनि राजसंस्थावादी रहेको खुलेको छ भने कमल थापाको हातबाट राजसंसथाको मुद्दा पनि खोसिने सम्भावना बढेको छ। सिद्धान्ततः अब दुवै राप्रपा राजसंस्थावादी दलका रुपमा देखा परेका छन्। स्मरणीय के छ भने पार्टी एकताको एक महिना नबित्दै गत चैतमा राप्रपाबाट अलग भएका डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीले पनि राजसंस्थावादी दलका रुपमा आफूलाई उभ्याउँदै आएको छ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले संविधानले प्रत्याभूत गरेको धर्म निरपेक्षताको यसअघि देखि नै विरोध गर्दै आएका थिए। देशमा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने पुरानो अडान उनले स्थानीय पत्रकारहरूसँगको भलाकुसारीमा दोहोर्याएका हुन्। 
 

विराटनगरमा अध्यक्ष राणाको वाणी

हामी हाम्रो संस्कार, संस्कृति र इतिहासमा गौरव लिने पार्टी हौं। यो मुलुक बनेको भनेको ... पहिले यो मुलुक स्थापना हुँदा पृथ्वीनारयण शाह...। शाह बंशले यो मुलुकलाई एक गरेको हो। त्यसैले हामीले त्यो परम्परागत संस्थालाई पनि केही स्थान दिनुपर्छ भनेर सोच्छौं।

मैले भनेँ नि, परम्परागत संस्थाहरूलाई पनि केही स्थान दिनुपर्छ भन्नेसम्म सोच हो। त्यो भन्दा बढ्ता पनि होइन, त्यो भन्दा कम पनि होइन। 
सुन्नोस् न, अब परम्परागत सोच बोकेनौं, इतिहास पनि बोकेनौं, केही पनि बोकेनौं भनेपछि त हामी कहाँ जाने? हामीचाहिँ फुट्ट उफ्रिएका त होइनौं नि। हामी एउटा सन्दर्भमा उम्रिएको हो। एउटा सन्दर्भमा जन्म्या हौं। त्यो सन्दर्भ सम्झेर अगाडि जानुपर्छ। मैले तपाईँलाई के भनेको हो भने हाम्रो विगत छ, हाम्रो संस्कृति छ, हाम्रो परम्परा छ। त्यो सप्पैलाई समेटेर हामी अगाडि बढ्नुपर्छ।

यो मुलुकमा ८१ प्रतिशत हिन्दुहरू छन्। ९४ प्रतिशत हाम्रो पराम्परागत धार्मिक शक्तिबाट आएका मान्छे छन्। त्यसले स्थान पाउनुपर्छ भन्ने कुरो हो हाम्रो। ठीकै छ, त्यो हामीले के भन्या भने धर्म निरपेक्ष गर्दाखेरि हामीले पूरा सोचविचार गरेर गर्न नसकेको हो।

गणतन्त्रको सत्ता शयर, राजसंस्थाको वकालत

अध्यक्ष राणाको यो पछिल्लो अभिव्यक्ति उसले स्वीकार गरेको गणतान्त्रिक संविधानको मर्म र भावनासँग मेल खाँदैन। भर्खरै ५० सदस्यीय मौजुदा रहेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा ३ मन्त्री र एक राज्यमन्त्री थपेसँगै ५४ सदस्यीय सरकारमा सत्तारोहण गरेको राणाको दलको सत्ता यात्रा र अध्यक्षको पछिल्लो अभिव्यक्ति पनि परस्पर विरोधी हुन्। 
गणतन्त्रवादी दलको सत्तागठबन्धनसँगै सत्तामा बसेर राजसंस्थाको हैसियत खोज्ने नैतिक आधार नभए पनि  राप्रपा प्रजातान्त्रिकले स्थानीय तहको अन्तिम चरणको र संघीय प्रदेश र संसदको आगामी मंसिरमा तय भैसकेको चुनावको पूर्वसन्ध्यामा आफू राजसंस्थावादी भएको सन्देश दिएको छ। 

उसले राजसंस्थावादी कित्ताको जनमत आफ्नो पक्षमा पार्न र कमल थापा विरोधी राप्रपाको मत बटुल्न यस्तो अभिव्ययक्ति दिएको हुनसक्छ। किन भने राणा जत्तिका पठित र पाका नेताले संविधान अन्तर्गत नै गणतान्त्रिक सत्तामा हिस्सेदार रहेर यस्ता राजसंस्थावादी माग राख्नु गलत हो भन्ने नबुझेको तथ्य पक्कै होइन।

अर्को तर्फ राप्रपा प्रजातान्त्रिकले सरकारमा मन्त्री पठाउँदा समावेशी, समानुपातिक प्रतिनिधित्व नगराएको झोकमा पार्टीभित्रै व्यापक असन्तुष्टि बढिरहेका बेला असन्तुष्ट सांसद र नेता कार्यकर्तालाई नयाँ मुद्दातिर ध्यान मोड्न पनि रणनीतिक रुपमा अध्यक्ष राणाको यो संविधान विरोधी भनाई आएको हुनुपर्छ। किन भने कमल थापा पक्षीय राप्रपाबाट राणाको दलमा सामेल अधिकांश सांसद सत्तामा जान नपाएर राणासँग रिसाएर अप्रिय निर्णय गर्ने घुर्की लगाइरहेका छन्।

डा. लोहनीसँग पार्टी एकताको सम्भावना 

अध्यक्ष राणाको पछिल्लो अभिव्यक्तिले सानो झुण्डको रुपमा मात्रै सीमित हुन पुगेको डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपा बीच पार्टी एकताको सम्भावना पनि बढाएको छ। प्रजातान्त्रिक राप्रपाका नेता राजाराम श्रेष्ठ डा. लोहनीसँग पार्टी एकताको सम्भावना बढेको बताउँछन्। अर्का नेता सुरेश आचार्यले पनि यी दुई दलबीच एकताको सम्भावना रहेको बताएका छन्।

उता डा. लोहनीको दलका सह अध्यक्ष केशर बहादुर बिष्टले अनौपचारिक रुपमा एकता प्रयास जारी रहेको बताइसकेका छन्। सिद्धान्ततः एकै कित्तामा उभिएका कारण पनि यी दुई दल मिल्ने सम्भावना बढेको छ। स्मरणीय के छ भने यी दुवै दल कमल थापा नेतृत्वको राप्रपाबाट चोइटिएर बनेका हुन्। दुवै दलले हलो चुनाव चिन्हमा दाबी गरेका छन्। संयोगवश निर्वाचन आयोगले पनि दुवै दललाई हलो नै संघीय र संसदीय चुनावका लागि चुनाव चिन्हका रुपमा दिएको छ। 

पूर्व राजालाई नयाँ उर्जा

अध्यक्ष राणाको यो पछिल्लो अभिव्यक्ति राजसंस्था र हिन्दुत्वको मुद्दा आफ्नो वर्पौती ठान्ने कमल थापालाई चुनौती हो भने नागारिक हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्रका लागि सकारात्मक उर्जा। आफ्नो पछिल्लो वक्तव्यमा आफूलाई पद प्रतिष्ठा भन्दा देशभक्ति नै महत्वपूर्ण रहेको जनाएका पूर्वराजा ज्ञानेन्द्रका लागि पशुपति शम्शेर राणा स्तरका नेताले हैसियत मागिदिनु पक्कै पनि उनका लागि उर्जा हो। 

राजावादी भनिने र कमल थापा वरपर गोलबन्ध हुन नसक्ने तप्कालाई पशुपति राणा नेतृत्वको दल नयाँ राजनीतिक चौतारी पनि बन्ने संकेत देखिन्छ। देशमा गणतान्त्रिक संविधानको सर्वस्वीकार्यता वृद्धि हुँदै गएको र संविधानले निर्दिष्ट गरेका चुनावी अभ्यासहरू सम्पन्न हुँदै जाँदा संविधान कार्यान्वयन सफल भैरहेको छ। यस परिवशेमा हिन्दु राज्यका पक्षमा बहस जारी रहे पनि राजसंस्थाका पक्षमा बहस कमजोर पर्दै जान थालेको छ। तर, राप्रपाका तिनै वटा खेमा राजसंस्थावादी देखिनु र खासगरी अध्यक्ष राणको बोली राजसंस्थाको पक्षमा चर्को रुपमा आउनु राजावादीका लागि सुखद् संचार हो। तर, गणतन्त्रवादीहरूका लागि भने यो अर्को झस्का नै हुनुपर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell