काठमाडौं : सन् २०१०, नेपालको वेभरेज बजारमा भरखर इनर्जी ड्रिङ्कको प्रवेश हुँदै थियो। यस्ता ड्रिङ्कमध्ये एक रेडबुल नेपाली बजारमा आयो। काठमाडौंमा यसप्रति हल्का क्रेज बन्दै थियो। यही क्रेजको परिणाम थाइल्याण्डमा उत्पादन हुने रेडबुलसँग नाम मिल्दा जुल्दा र उस्तै प्याकेजिङका दर्जनौं इनर्जी ड्रिङ्कले नेपालको बजारमा उपस्थिति जनाए।
देशकै सबैभन्दा ठूलो मदिरा कम्पनी अर्थात नेपाली बियर उद्योगको 'बादशाह' गोर्खा ब्रुअरीले आफ्नो वेभरेज सेगमेन्टलाई यही बेला डाइभर्सिफाइ गर्ने निर्णय गर्यो।
टुबोर्ग, कार्ल्सवर्ग, सानिमिगेल र गोर्खा बियरमार्फत नेपालको बियर उद्योगमा एक छत्र राज गरेको गोर्खा ब्रुअरीले सन् २०१० मा वेभरेज उद्योगको भिन्न पोर्टफोलियोका लागि इनर्जी ड्रिंक रेडबुलमा नजर लगायो।
नेपालमा बिक्री गर्ने अधिकार प्राप्त गरेपछि गोर्खा ब्रुअरीले 'रेडबुल'को ब्राण्डिङमा हात हाल्यो। वेभरेजमा भिन्न पोर्टफोलियो, एग्रेसिभ ब्राण्डिङ, उत्कृष्ट वितरण सञ्जाल र स्वादले रेडबुल नेपालको नम्वर वान इनर्जी ड्रिङ्क बन्न पुग्यो। जुन ब्राण्डको अहिले पनि माग र आपूर्तिको सन्तुलन मिलाउन गोर्खा ब्रुअरीलाई हम्मे हम्मे परिरहेको हुन्छ।
वेभरेज उद्योगमा बियर मात्रै नभएर अरु ड्रिङ्कमा पनि भिन्न पोर्टफोलियो तयार गर्ने गोर्खा ब्रुअरीको रणनीति रेडबुल जस्तै सँधै सफल भने थिएन। सन् २००६ मा गोर्खाले दुई वटा ब्राण्ड जोली स्याण्डी र जोली लेमनेड लञ्च गरेको थियो।
शुन्य दशमलव पाँच प्रतिशतदेखि एक प्रतिशत अल्कोहल भएका यी दुई प्रडक्ट गोर्खा ब्रुअरीका लागि महत्वाकांक्षी भए पनि बजारले राम्रो रेस्पोन्स दिएन। त्यसमाथि न्यून अल्कोहलको मात्राका आधारमा यो बियर हो वा सफ्ट ड्रिङ्क भन्ने कर विवादमा समेत पर्यो। यसरी बियरवाहेक वेभरेजमा भिन्न पोर्टफोलियो तयार गर्ने रणनीतिमा गोर्खा ब्रुअरी कहिले सफल थियो त कहिले असफल।
सन् २०१६ मेमा गोर्खा ब्रुअरी अर्को एउटा उत्पादनसहित बजारमा आयो। उत्पादनको नाम थियो- सोमर्सवी। रेडबुलको सफलतापछि ‘ब्याक टु’ नर्मल बिजनेशमा गएको गोर्खाको टिमका लागि जोली लेमोनेड र स्याण्डीमा भोगेको असफलतालाई टाढा राखेर सोमर्सवीका लागि बियर र रेडबुलको सफलता दोहोर्याउनु थियो।
र, कम्पनीले यसपटक सफलता दोहोराएन मात्रै त्यसभन्दा अघि बढेर काल्सवर्ग समूहमा सोमर्सवी लञ्च गर्न बाँकि एशियाली मुलुकका लागि ब्राण्डिङको एउटा नमूना समेत दियो। त्यस्तो ठूलो उपलब्धि कसरी सम्भव भयो? गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले सोमर्सवी लञ्च गरेपछिका पछिल्लो १६ महिनाको रणनीतिलाई बेलिविस्तार लगाए।
गोर्खा ब्रुअरीले २२ मे २०१६ का लागि सोसलाइट र मिडियालाई एउटा निमन्त्रणा पठायो। मदिरा त्यसमाथि नयाँ ब्राण्डको लञ्चिङ भए पनि यो निम्तो साँझ वा रातीका लागि थिएन। निम्तो थियो, दिउँसोको लञ्च टाइमका लागि।
होटल ह्यातको ब्याकमा रहेको चौर, जसलाई स्याउ फार्मको 'फिल'मा ढालिएको थियो, त्यहीँ गोर्खा ब्रुअरीले आफ्नो नयाँ उत्पादन सोमर्सवी लञ्च गर्यो। सोसलाइट र मिडियाकर्मीलाई दिउँसोको लञ्चसँगै आइस क्युव सहित चिल्ड सोमर्सवी सर्भ गरियो।
सफ्ट ड्रिङ्कभन्दा माथि बियरभन्दा कम साढे चार प्रतिशत अल्कोहल भएको सोमर्सवीको मध्यान्हमा गरिएको लञ्चबाट दिन खोजिएको सन्देश थियो- यो पूरै अल्कोहल होइन्, विहानको खाना, दिउँसो र साँझका लागि मात्र रिफ्रेसमेन्ट ड्रिङ्क हो।
गोर्खा ब्रुअरीले सोमर्सवी युवालाई लक्षित गरेको थियो। त्यसैले कम्पनीले ब्राण्डिङको रणनीति पनि त्यहीअनुसार तय गर्यो। नयाँ प्रडक्ट र ब्राण्डका विषयमा 'ओपिनियन' तयार गर्न सक्ने लिडरको अफिस अफिसमा बाँसको पेरुङ्गोमा हालेर सोमर्सवी डेलिभरी गरियो।
नयाँ प्रडक्ट नयाँ शैलीमा डेलिभरी प्राप्त गर्ने व्यक्तिले त्यसलाई सोसल मिडियाको विषय बनाउन थाले। सँगसँगै कम्पनीले युवा सेलिब्रेटिको ब्रिगेडमार्फत सोमर्सवीलाई सोसल मिडियामा समेत उतार्यो।
युवा सेलिब्रेटिले सोमर्सवीसँग तस्वीर खिचाएर फेसबुकदेखि इन्स्ट्राग्रामसम्म राखे। ‘तपाईंलाई लाग्छ यो सबै युवा सेलिब्रेटिको पसर्नल इन्ट्रेस्ट थियो भनेर? होइन, यो कम्पनीको एउटा ब्राण्डिङ रणनीतिको हिस्सा थियो,’ मार्केटिङ डाइरेक्टर शर्माले भने।
विस्तारै धेरै युवा जोडिने ट्रोल नेपाल तिर पनि सोमर्सवीको पोष्टिङ आउन थाल्यो। यसरी एक पछि अर्को सकारात्मक प्रभावले सोमर्सबीलाई नयाँ उचाइ तिर निरन्तर धकेली रह्यो।
कम्पनीले सोमर्सवीका लागि 'बज क्रियट' गर्न डिजिटल मिडियालाई छान्यो। सोसल मिडियासहित डिजिटल मिडियाबाट राम्रो 'बज क्रियट’ गर्दा काठमाडौंमा सोमर्सवीको क्रेज तयार भैसकेको थियो।
काठमाडौंको क्रेज तयार भएपछि मात्रै गोर्खा ब्रुअरीले यसलाई देशका बाँकी भागमा पुर्यायो। काठमाडौंमा जुन रणनीतिका साथ प्रडक्ट लञ्च गरिएको थियो, त्यही रणनीतिका साथ कम्पनीले पोखरा, नारायणगढ र इटहरीमा पनि सोमर्सवी लञ्च गर्यो। साथै कम्पनीले फेसन शो, लाइभ म्युजिक र परर्फमेन्सलाई स्पोन्सर गरेर समेत ब्रान्ड भिजिविलिटि बढायो।
सोमर्सवी लञ्च गरेको १६ महिना पुगेको छ। अहिले एसियाभरमा हुने कार्ल्सबर्ग समूहको बियर बिक्रीमा नेपालको योगदान १.५ प्रतिशत मात्र छ। ‘तर, सोमर्सबीको प्रोटफोलियो मात्रै हेर्दा बाँकी एशियाली देशको परफर्मेन्सभन्दा नेपालको फर्मेन्स ज्यादै राम्रो देखिएको छ’, मार्केटिङ डाइरेक्टर शर्माले भने। यो कसरी सम्भव भयो भन्ने काल्सवर्गको जिज्ञासा मेट्न कम्पनीले एउटा प्रेजेन्टेसन नै बनाएको छ- ‘क्रयाकिङ द कोड फर सोमर्सवीज् फर्स्ट इयर सक्सेस इन नेपाल।’
मार्केटिङ डाइरेक्टर शर्मा भन्छन्- ‘कुनै पनि प्रडक्ट सक्सेस हुन मार्केटिङका चार 'पि'को उचित संयोजन हुन जरुरी छ।’ सोमर्सबीका सन्दर्भमा यी चार 'पि' प्रडक्ट, प्रमोशन, प्राइस र प्लेसको राम्रो संयोजन भएको बिजनेश मन्त्र उनले दोहोर्याए।
सोमर्सवी २५० मिलिलिटरको बोटलमा लञ्च गरिएको थियो। स्याउको स्वादमा कृत्रिम रंग र फ्लेबर नमिसाइएका कारण युवाले यसलाई खुब मन पाए। सुरु सुरुमा बियर खाने जमातले नै यसलाई टेष्ट गर्यो। उनीहरुको 'माउथ अफ वर्ड', ब्राण्डिङ रणनीति र अल्कोहलको सफ्टनेसले युवा र महिला यसका नयाँ कन्जुमर बने।
त्यसैले बियर खाने जमात आफ्नो पुरानै ड्रिङ्कमा फर्किए पनि गोर्खा ब्रुअरीका लागि सोमर्सवी पर्फेक्ट प्रडक्ट बन्न पुग्यो। विश्वका ४० देशमा उपलब्ध सोमर्सवी नेपालमा सफ्ट ड्रिङ्कभन्दा माथि बियरभन्दा तल रिफ्रेसमेन्टका लागि एउटा नयाँ सेगमेन्ट बन्न पुग्यो।
गोर्खा ब्रुअरीले सोमर्सवीका लागि राइट प्राइसिङ स्ट्राटेजीमा समेत काम गर्यो। साढे दुई सय एमएलको यो सफ्ट ड्रिङ्कसलाई बजारमा उतार्दा एक सय रुपैयाँ एमआरपि राखेको थियो। कम्पनीले रेष्टुरेण्ट आउटलेटमा समेत यसको मूल्य १५० भन्दा माथि नराख्न सहयोग माग्यो। नयाँ आर्थिक वर्षका लागि बजेटबाट अन्तशुल्क बढेपछि अहिले सोमर्सवीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको छ।
अल्कोहल युक्त यो सफ्ट ड्रिंक्स गोर्खा ब्रुअरीले नवलपरासीस्थित मुकुन्दपुरमा रहेको प्लान्टमा उत्पादन गर्छ। नेपालमै उत्पादन भएको कारण सही प्राइसिङ गर्न सकिएको मार्केटिङ डाइरेक्टर शर्मा बताउँछन्। एप्पल साइडरका रुपमा सन् २००८ मा काल्सबर्गले खोज गरेको सोमर्सवी डेनमार्क र नर्वेमा अहिले मार्केट लिडर छ।
डेनमार्क र नर्वेमा लञ्च गरिएको सोमर्सवी त्यहाँभन्दा आठ वर्षपछि नेपालमा लञ्च गर्दा पनि नेपालको मार्केट लिडर मात्रै बनेको छैन्, बाँकी एशियाली मुलुकका लागि नमूना बनेको छ।
त्यसैले गोर्खा ब्रुअरीले यसको मार्केटिङ रणनीतका लागि नयाँ स्लोगन जुराएको छ, एस फर सोमर्सवी...एण्ड फर सक्सेस ! ब्राण्ड त सफल बन्यो अबको भविष्य के? शर्मा भन्छन्, कार्ल्सबर्ग ग्रुपले कुनै प्रिमियम प्रडक्ट लन्च गर्दा सिड (बिउ), बिल्ड (बिकास) र एक्सपाण्ड (बिस्तार) गरि तीन चरणको मोडल विकास गरेको छ। जस अनुसार गत बर्ष यो पेय 'सिड' थियो। अहिले यो 'बिल्ड' हुँदैछ। अर्को बर्ष पनि ब्राण्ड 'बिल्ड' नै हुन्छ। त्यसपछि नयाँ स्वाद लगायतका विकल्पमा गएर सोमर्सवीको अझ एक्सपाण्ड हुन्छ, शर्माले स्पष्टिकरण दिए।