
काठमाडौंः चुनाव प्रचारप्रसारको अन्तिम दिन आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज ११ वटा सभालाई सम्बोधन गर्दैछन्।
अध्यक्ष यादवले आज दिनभर सिरहाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्।
मधेश आन्दोलनको उद्गमस्थल र मधेशका प्रथम सहीद रमेश महतोको गृहजिल्ला भएकाले यादवले चुनावको अन्तिम दिन सिरहालाई रोजेका फोरम नेपाल सिरहाका अध्यक्ष बादल प्रसाद यादवले जानकारी दिए।
अध्यक्ष यादवको कार्यतालिका अनुसार बिहान ९ बजे सिरहाको बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साँझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुने यादवको सचिवालयले जनाएको छ। यसबीचमा उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन्।
बन्दीपुरको सभालाई सम्बोधनपछि यादवले कर्जनहा गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेछन्। त्यस लगत्तै उनले बरथवा गाउँपालिका, विष्णुपुर गाउँपालिकामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनेछन्।
दिउँसो एक बजे औरही गाउँपालिकामा फोरम नेपाल सिरहाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर बरियारपट्टी गाउँपालिकाको कार्यक्रममा सहभागी हुनेछन्। तीन बजे लहान नगरपालिकामा आयोजित सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नेछन्।
महेशपुर पतायर गाउँपालिका हुँदै मिर्चैया नगरपालिकाको चुनावी कार्यक्रममा सहभागी हुनेछन्। अन्त्यमा साँझ ६ बजे कल्याणपुर नगरपालिकामा आयोजना गरिएको चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नेछन्।